जेन–जी’ आन्दोलनका क्रममा देशभरका कारागारमा भएको तोडफोड र आगजनीपछि रास्वपा सभापति रवि लामिछानेसँगै भागेका कैदी–बन्दीमध्ये अझै ७ हजार ६२७ जना फरार छन् ।
भदौ २४ गतेको उग्र प्रदर्शनका बेला २८ कारागार र ९ सुधारगृहबाट कैदी तथा थुनुवा पलायन भएका थिए । कारागार व्यवस्था विभागका तथ्यांकअनुसार, सो दिन कुल १४ हजार ५५६ जना भागेका थिए ।
जसमा १३ हजार ५९२ कैदी कारागारबाट र ९६४ जना सुधारगृहबाट बाहिरिएका थिए । यसमध्ये असोज ५ गते आइतबार साँझसम्म ६ हजार ९२८ जना स्वेच्छाले वा नियन्त्रणमा परी कारागार फर्किएका छन् ।
तर, अझै सम्पर्कमा नआएकामध्ये धेरैजसो जघन्य र संगठित अपराधमा संलग्न रहेका विभागले जनाएको छ । उक्त घटनामा कारागार फोडेर भाग्ने क्रममा नेपाली सेनाले चलाएको गोली लागेर पाँच कैदीको ज्यान गएको थियो ।


