मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्राको नाम काटिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।
तर मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान गरिरहेकाले आज उनको नाम काटेर पुन: चार जनाको नाम मात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको हो।
जसका कारण आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र शपथ खाने छन्।
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी डा. मिश्र नागरिकता र अनियमितता विवादमा परेकी थिइन्। यसअघि रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात) र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री बनिसकेका छन्।


