Banijya News

भक्तपुर अस्पतालले देशभर ‘प्यालियटिभ’ सेवा विस्तार गर्ने

1
1.1K Shares

भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवा विस्तार गर्ने घोषणा गरेको छ । ‘विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५’ का अवसरमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले स्वागत मन्तव्य दिँदै जीवनको अन्तिम क्षणमा पनि माया, सहानुभूति र सम्मान पाउने अधिकार प्रत्येक व्यक्तिको हुने बताए। ‘हामी केवल उपचार होइन, मानवताको सेवा गरिरहेका छौं। प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक जिम्मेवारी हो,’ उनले भने।

डा. चालिसेले नेपालमै पहिलोपटक होस्पिस सुविधा स्थापना गर्ने लक्ष्य रहेको बताउँदै, यसका लागि सरकारी, गैर-सरकारी निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार भक्तपुर क्यान्सर अस्पतालले अहिले नै देशकै एक सशक्त प्यालियटिभ केयर युनिट सञ्चालन गरिरहेको छ र यसलाई थप सुदृढ बनाउने योजनामा छ।

डा. चालिसेले उक्त रणनीतिको पाँच मुख्य पक्ष- मानव संसाधन विकास, सेवाको पहुँच विस्तार, संस्थागत सुदृढीकरण, औषधि सुनिश्चितता र समुदाय संलग्नता प्रस्तुत गर्दै नेपालमा प्यालियटिभ सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा मिस नेपाल २०२५ की लुना लुइँटेलले समाजका सबै वर्गले उपयोग गर्नसक्ने गरी प्यालियटिभ केयरलाई अगाडि बढाउनुपर्ने बताइन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बूढाथोकीले नेपाल सरकारले २०२५ देखि २०३५ सम्मका लागि राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको बताउँदै यसले देशभर प्यालियटिभ सेवा विस्तारमा सहयोगी हुने बताए ।
हाल नेपालमा प्यालियटिभ केयरमा विशेष एमडी डिग्री प्राप्त दुई जना मात्र चिकित्सक कार्यरत छन् र दुवै जना भक्तपुर क्यान्सर अस्पतालमै कार्यरत रहेको अस्पतालले जनाएको छ।

सो अवसरमा लायन्स क्लब अफ बाग्मती क्यान्सर केयर (रु १ लाख), डीके मेडि सेल्स (रु ५ लाख बराबरको सहयोग), ईस्ट वेस्ट कन्सर्न (रु २ लाख) र श्रीमती उषा दीक्षित (रु १ लाख) द्वारा बीसीएच प्यालियटिभ केयर फन्डमा सहयोगको प्रतिबद्धता जनाइएको थियो। कार्यक्रम भक्तपुर क्यान्सर अस्पतालको प्राङ्गणमा सम्पन्न भएको थियो।

1

Scroll to Top