आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले अबको २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने गरी कार्यतालिका तय भएको छ ।
ढिलो गरी दल दर्ताको निवेदन आएको खण्डमा समस्या हुन सक्ने आयोगका अर्का एक अधिकारी बताउँछन् । उनका अनुसार दल दर्ताको निवेदन दिएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १६ छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अगाडि दल दर्ताका लागि ९ वटा निवेदन परेका थिए । जेनजी आन्दोलनपछि थप सात दल दर्ताका लागि निवेदन परेको छ । १६ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ ।
सूचना अधिकारी घिमिरेका अनुसार दर्ता भएका दलको संख्या १२४ रहेको छ । यस बीचमा दुई वटा पार्टी फुटेर दर्ता भएका छन् । जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ । नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ ।
दर्ता हुन बाँकी रहेका दलहरूको विवरण अध्ययन गर्ने काम भइराखेको आयोगले जनाएको छ । कुनै दलको विधान स्पष्ट हुनुपर्ने, कुनैको सनाखतका लागि आवश्यक संख्या नपुग्ने लगायतका समस्या रहेका छन् ।
कुनै दलले प्रस्ताव गरेको चुनाव चिन्ह फेर्न आयोगले भनेको छ । राष्ट्रिय जेनजी पार्टी नेपालले चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेको छ । आयोगले यो चुनाव चिन्ह फेर्न आग्रह गरेको छ ।


