वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) घटेपछि लघुवित्त वित्तीय संस्थाहरूको ब्याजदर पनि सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनदेखि लघुवित्तहरूलाई… आधारदरमा ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तोक्न पाउने व्यवस्था गरेको थियो । तर, कर्जाको ब्याजदर वाणिज्य बैंकहरूको औसत आधारदरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने दरभन्दा बढी नहुने पनि स्पष्ट पारेको थियो ।
लघुवित्तहरूले चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दोस्रो त्रैमास (कात्तिक–पुस) का लागि कर्जाको ब्याज निर्धारण गर्ने बेला वाणिज्य बैंकहरूको औसत आधारदर घटेपछि लघुवित्तको कर्जाको ब्याजदर सस्तो भएको हो ।
राष्ट्र बैैंकका अनुसार भदौमा वाणिज्य बैंकहरूको औसत आधारदर ५ दशमलव ७२ प्रतिशत कायम भएको छ । त्यसको आधारमा उनीहरूले अधिकतम ब्याजदर १४ दशमलव ७२ प्रतिशतभन्दा बढी ब्याजदर लिन पाउँदैनन् । गत असारमा वाणिज्य बैंकहरुको आधारदर ६ दशमलव शून्य २ प्रतिशत कायम भएको थियो । त्यस आधारमा लघुवित्तहरूले साउनदेखि असोजसम्मका लागि वार्षिक १५ दशमलव शून्य २ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।
कात्तिकदेखि पुससम्मका लागि अधिकांश लघुवित्तले कर्जाको अधिकतम ब्याजदर १४ दशमलव ७२ प्रतिशत तोकेका छन् । अधिकतम ब्याजदरको सीमा मिलाउन संस्थाहरूले आफ्नो आधारदरका आधारमा प्रिमियम रकम तोकेका छन् । आधारदर बढी हुनेले कम प्रिमियम र आधारदर कम हुनेले बढी प्रिमियम तोकेका छन् । राष्ट्रियस्तरका लघुवित्तमध्ये मानुषी लघुवित्तको आधारदर नै अधिकतम ब्याजदरभन्दा बढी १४ दशमलव ९८ प्रतिशत रहेकाले नयाँ ब्याजदर नै प्रकाशित गरेको छैन ।
यसैगरी केही कम्पनीको आधारदर कम भए पनि ३ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने निर्देशनका कारण ब्याजदर घटेको छ ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव राष्ट्र बैंकको निर्देशनअनुसार कात्तिकमा अधिकांश लघुवित्तको ब्याजदर घटेको बताउँछन् । ‘लघुवित्तको ब्याजदरलाई वाणिज्य बैंकहरूको आधारदरमा आधारित बनाइएकाले समायोजन गर्दा ब्याजदर थोरै घटेको हो,’ उनले भने ।
बैंकको पहुँचमा पुग्न नसक्ने गरीब तथा विपन्न वर्गलाई वित्तीय सेवा दिने लघुवित्तले चर्को ब्याज लिएको गुनासो बढेसँगै राष्ट्र बैंकले २०७३ सालदेखि कर्जाको ब्याजदरमा सीमा तोक्न थालेको थियो । शुरूमा लघुवित्तहरूले अधिकतम १८ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेकामा ३ वर्षयता सीमा १५ प्रतिशतमा झारेको थियो । गत साउनदेखि भने राष्ट्र बैंकले ब्याजको सीमा तोक्ने व्यवस्था हटे पनि वाणिज्य बैंकको आधारदर र प्रिमियम दर तोकेर लघुवित्तको ब्याजदर नियन्त्रण गर्दै आएको छ ।
ब्याजदरको सीमा तोक्दा बजार प्रतिस्पर्धी नभएको र काम गर्न अप्ठ्यारो भएको भन्दै लघुवित्तका सञ्चालकहरूले गुनासो गरेपछि राष्ट्र बैंकले साउनदेखि आधारदरको प्रावधान लागू गरेको हो । २०८२ असारसम्ममा ५२ ओटा लघुवित्तका ग्राहकको संख्या ६२ लाख २१ हजार र ऋणीको संख्या २७ लाख ६ हजार पुगेको छ । उक्त अवधिसम्ममा लघुवित्तहरूले कुल ४ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यसमध्ये ४ खर्ब ४३ अर्ब रुपैयाँ सर्वसाधारणलाई प्रवाह भएको छ ।


