Banijya News

मतदाता नामावली दर्ताको समय नथपिने

1
1.2K Shares

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय थप नगर्ने भएको छ। निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेसम्म नामावली दर्ताको समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका नै प्रभावित हुने ब्रिफिङ गरेका थिए।

नामावली दर्ताको समय लम्ब्याउन नसकिने भएपछि अब राष्ट्रिय परिचय पत्रका लागि संकलन गरिएको बायोमेट्रिकबाट पनि मतदाता सूचीकृत गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री कार्कीसँग बुधबार भएको छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए।

आजबाट राष्ट्रिय परिचय पत्र बनाएका र मतदाता नामावलीमा नाम नभएका मतादाताको पनि नामावली सूचीकृत हुने गरी व्यवस्था मिलाइसकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

बुधबारको छलफलमा आयोगले निर्वाचन तयारी अन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जानकारी गराएको थियो। हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने पनि आयोगले ब्रिफिङ गरेको थियो

आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको आयोगले बताएको थियो।

हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको उनको भनाइ छ।

आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिँदै अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको बताए। उनका अनुसार, त्यसअघि दलहरूसँग पुनः छलफल गरिनेछ।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर चासो राखेका थिए।

1

Scroll to Top