विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्सस्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएईस्थित जोयालुक्कास एक्सचेन्जसँग सहकार्य गरी विधिवत रूपमा रेमिट्यान्स सेवाको सुरुआत गरेको हो । रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापछि अब यूएईमा रहेका नेपालीहरूले यूएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट ‘एमबीएल रेमिट’ गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, शाखारहीत बैकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिने जनाइएको छ ।
जोयालुक्कास एक्सचेन्जबाट ‘एमबीएल रेमिट’ गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखाहरू, शाखारहित बैकिङ सेवा ८८ र ११ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।


