उपभोक्ताले खरिद गर्ने पेट्रोलियम पदार्थबाट नेपाल आयल निगमले चालू आर्थिक वर्षको साढे पाँच महिनामै सरकारलाई ५० अर्बभन्दा बढी राजस्व बुझाएको छ । साउनदेखि पुस १५ गतेसम्म निगमले भ्याट, भन्सार शुल्क, पूर्वाधार विकास कर, सडक मर्मत शुल्क, वातावरण खर्च तथा हरित करलगायत विभिन्न शीर्षकमा कुल ५० अर्ब ५३ करोड रुपैयाँ राजस्व सरकारलाई भुक्तानी गरेको हो ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्रकुमार साहका अनुसार यस अवधिमा सबैभन्दा धेरै रकम मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा बुझाइएको छ । निगमले साढे पाँच महिनामा मात्रै १९ अर्ब २२ करोड रुपैयाँ भ्याट सरकारलाई तिरेको छ । गत आर्थिक वर्षमा भने निगमले कुल ४६ अर्ब ५८ करोड रुपैयाँ भ्याट तिरेको थियो ।
यस्तै, साउनदेखि पुस १५ गतेसम्म निगमले भन्सार शुल्कबापत १७ अर्ब २७ करोड रुपैयाँ राजस्व बुझाएको छ । पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार विन्दुमै उठाइने यो शुल्क उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा समेटिएर सरकारको खातामा जाने गरेको छ । गत आर्थिक वर्षमा निगमले भन्सार शुल्क शीर्षकमा ४० अर्ब ४२ करोड रुपैयाँ बुझाएको थियो ।
पूर्वाधार विकास कर शीर्षकमा साढे पाँच महिनामा ९ अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । पेट्रोलियम पदार्थ आयातमा प्रतिलिटर १० रुपैयाँका दरले उठाइने यो कर बुढीगण्डकी जलाशय जलविद्युत आयोजना लगायतका ठूला पूर्वाधारमा लगानी गर्ने उद्देश्यले लगाइएको हो । निगमका अनुसार यो शीर्षकमा मात्रै पछिल्ला साढे १० वर्षमा १ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ संकलन भइसकेको छ ।
यस अवधिमा सडक मर्मत शुल्कबापत २ अर्ब ५४ करोड रुपैयाँ र वातावरण खर्च शीर्षकमा १ अर्ब ३८ करोड रुपैयाँ सरकारलाई बुझाइएको छ । यी दुवै कर पनि भन्सार विन्दुमै संकलन हुने भएकाले उपभोक्ताले इन्धन खरिद गर्दा प्रत्यक्ष रूपमा तिर्नुपरेको निगमको भनाइ छ ।
हरित कर शीर्षकमा भने चालू आर्थिक वर्षको साढे पाँच महिनामा ९२ करोड रुपैयाँ संकलन गरिएको छ । सरकारले कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१/८२ देखि पेट्रोलियम पदार्थ आयातमा भन्सार विन्दुमै हरित कर लगाउन थालेको हो । निगमका अनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर एक–एक रुपैयाँका दरले हरित कर तिरिँदै आएको छ । गत आर्थिक वर्षमा यस शीर्षकमा २ अर्ब २० करोड रुपैयाँ संकलन भएको थियो ।
सरकारले पेट्रोलियम पदार्थ आयातमा भन्सार विन्दुमै भ्याट, भन्सार शुल्क, पूर्वाधार विकास कर, सडक मर्मत शुल्क, वातावरण खर्च, हरित कर र आयकरसमेत उठाउने व्यवस्था गरेको छ । यी सबै कर तथा शुल्कको भार अन्ततः उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा जोडिँदा पेट्रोलियम पदार्थ महँगो पर्ने गरेको छ ।
पूर्वाधार करमार्फत ठूलो रकम उठे पनि अपेक्षित रूपमा ठूला आयोजना समयमै अघि बढ्न नसकेको भन्दै आलोचना पनि हुँदै आएको छ । बुढीगण्डकी जलाशय आयोजना निर्माणका लागि उठाइएको करबाट अहिलेसम्म करिब ४५ अर्ब रुपैयाँ जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा खर्च भइसकेको छ । आयोजना निर्माणका लागि करिब ४ खर्ब ६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।


