Banijya News

भोटेकोशी बाढीका कारण रोकिएको करदाता उपहार घोषणा असोज १ गते हुने

1
1.0K Shares

आन्तरिक राजस्व विभागले भोटेकोशीमा आएको बाढी र देशमा परेको विपत्तिका कारण स्थगित भएको भदौ महिनाको ुकरदाता प्रोत्साहन उपहारु असोज १ गते घोषणा गर्ने भएको छ। उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र कर प्रणालीमा आबद्ध हुने बानी बसाल्न सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यो कार्यक्रम ल्याएको थियो। साउन १ गतेदेखि सुरु भएको यो योजनाअन्तर्गत भदौ १६ गते हुनुपर्ने पुरस्कार घोषणा विपद्का कारण पर धकेलिएको हो।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार असोज १ गते भदौ महिनाभरिका कुल ३३ जना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ। यसअन्तर्गत भदौ १ देखि १५ गतेसम्मका दैनिक १ जनाका दरले १५ जना र भदौ १६ देखि ३१ गतेसम्मका दैनिक १ जनाका दरले १६ जना गरी कुल ३१ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ -कर कटाएर खुद १ लाख) प्राप्त गर्नेछन्। यसका साथै दुवै १५–१५ दिनको अवधिबाट १–१ जना गरी २ जनाले १०–१० लाख रुपैयाँ -कर कटाएर खुद ७ लाख ५० हजार) को बम्पर पुरस्कार जित्नेछन्।

यो उपहार कार्यक्रममा सहभागी हुनका लागि उपभोक्ताले कम्तीमा १०० रुपैयाँभन्दा बढीको खरिदमा अनिवार्य रूपमा सक्कली भ्याट वा प्यान बिल लिनुपर्ने व्यवस्था छ। अनलाइनमार्फत भुक्तानी गरी गरिएको कारोबार स्वतः विभागको प्रणालीमा समावेश हुन्छ भने नगद भुक्तानी गरी बिल लिनेहरूले आन्तरिक राजस्व विभागको पोर्टलमा गएर बिल अपलोड गरी कुपन लिनुपर्छ। पहिलो १५ दिनको लागि भदौ १५ गतेभित्र र दोस्रो १५ दिनको लागि भदौ मसान्तको राति १२ बजेसम्म बिल दर्ता गरिसक्नुपर्ने नियम छ।

यसअघि साउन महिनाको उपहार कार्यक्रममा ३३ जना उपभोक्ता विजेता बनेका थिए, जसको छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए। नियमअनुसार प्राप्त हुने सबै पुरस्कार रकममा २५ प्रतिशत अनिवार्य आयकर कट्टी गरेर मात्र विजेतालाई बाँकी रकम हस्तान्तरण गरिने कार्यविधि रहेको छ।

1

Scroll to Top