Banijya News

गोदाम छापा मार्न पुगेको सुरक्षाकर्मी र व्यापारीबीच वीरगञ्जमा झडप

1
1.1K Shares

वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगरमा राजस्व छलीको आशंकामा गोदाम छापा मार्न पुगेको सुरक्षाकर्मी र स्थानीय व्यापारीबीच आइतबार दिउँसो तीव्र झडप भएको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले व्यापारिक गोदाममा खानतलासी गर्ने क्रममा स्थिति तनावग्रस्त बनेको हो । झडपमा परी तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् भने सुरक्षा निकायको सवारी साधनमा समेत क्षति पुगेको छ।

राजस्व चुहावट भइरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीको नेतृत्वमा टोली आदर्शनगरस्थित प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ को गोदाममा पुगेको थियो । टोलीले गोदामको खानतलासी सुरु गर्ने बित्तिकै आदर्शनगर क्षेत्रका व्यापारीहरू स्वतःस्फूर्त रूपमा भेला भई प्रतिकारमा उत्रिएका थिए। व्यापारीहरूले भन्सार तिरेर ल्याइएका सामानहरूमा विनाकारण दुःख दिएको भन्दै सुरक्षाकर्मीको काममा अवरोध सिर्जना गरेका थिए ।

घटनास्थलमा रहेका व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै प्रहरी प्रशासनले सास्ती दिएको आरोप लगाएका छन्। व्यवसायीहरूका अनुसार, वैध कागजात देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि विवादले उग्र रूप लिएको थियो । आक्रोशित भीडले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्न थालेपछि झडप भएको सशस्त्र प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडिको सिसा फुटेको छ भने घाइते तीन सुरक्षाकर्मीको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिइएको छ।

तनावका बीच सुरक्षाकर्मीको टोलीले उक्त गोदामबाट ५ पोका साडी तथा कुर्ता(सुरुवाल लगायतका लत्ताकपडा नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुमान अनुसार बरामद सामानको मूल्य करिब ५ लाख रुपैयाँ बराबर रहेको भए तापनि यसको अन्तिम मूल्याङ्कन र विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । हाल सुरक्षा निकायले बरामद सामानको लगत संकलन गर्ने र कानुनी प्रक्रियाका लागि मुचुल्का उठाउने कार्य गरिरहेको छ।

यस घटनापछि आदर्शनगर र वरपरको व्यापारिक क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार, गोदाममा रहेका सामानहरूको वैधता र राजस्व प्रक्रियाबारे थप अनुसन्धान भइरहेको छ । वैध कागजात नभएका सामानहरू जफत गरिने र शान्ति सुरक्षामा दखल पुर्‍याउने पक्षमाथि निगरानी बढाइएको प्रशासनले जनाएको छ । वीरगञ्जका व्यापारीहरूले भने प्रशासनको यस्तो कार्यले व्यवसायिक वातावरण बिग्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

1

Scroll to Top