Banijya News

सूर्य नेपाल काठमाडौं ओपन सुरु

1
1.1K Shares

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन रामे मगर र रवि खड्का संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा ३-अन्डर ६५ को उत्कृष्ट स्कोर बनाएका उनीहरूले जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारेका हुन्।

जयराम २-अन्डर ६६ सहित तेस्रो स्थानमा रहँदा, १-अन्डर ६७ को स्कोर बनाएका सञ्जय लामा चौथो स्थानमा अटाए। यस्तै इभन-पार ६८ सहित भुवन कुमार रोक्का, नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ र दिनेश प्रजापतिले संयुक्तरुपमा पाँचौं स्थान बाँडेका छन्। १-ओभर ६९ को स्कोर बनाएका भुवन नगरकोटी तथा एमेच्योर गल्फरद्वय राहुल विश्वकर्मा र महेन्द्र फगामी भने संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।

खेलको प्राविधिक पक्षतर्फ रामे मगरले दोस्रो होलमा एक सट खेर फाले पनि बाँकी आठ होलमा पार बचाउँदै फ्रन्ट नाइन १-ओभर ३५ मा सकाएका थिए। तर, ब्याक नाइनमा उनले बोगी रहित खेल्दै १०औं, ११औं, १३औं र १८औं होलमा बर्डी प्रहार गरेर ४-अन्डर ३० को सानदार प्रदर्शन गरे। अर्का शीर्ष खेलाडी रवि खड्काले भने पूरै दिन बोगी रहित स्कोर कार्ड बनाउने क्रममा पहिलो, नवौं र दशौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३२ र ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे। तेस्रो स्थानका जयराम श्रेष्ठले फ्रन्ट नाइनमा तीन बर्डी र तीन बोगीको सामना गर्दै इभन-पार ३४ जोडेका थिए। ब्याक नाइनमा सम्हालिएका उनले १२औं, १३औं र १६औं होलमा बर्डी र एउटा बोगी खेप्दै २-अन्डर ३२ को स्कोर कार्ड तयार पारे।

एमेच्योरतर्फ १-ओभर ६९ को स्कोरसहित राहुल र महेन्द्र संयुक्तरुपमा शीर्षस्थानमा छन्। राहुलले फ्रन्ट नाइनमा १-ओभर ३५ र ब्याक नाइनमा इभन-पार ३४ को योगदान दिए भने महेन्द्रले फ्रन्ट नाइनमा ४-अन्डर ३० को उत्कृष्ट खेल देखाए पनि ब्याक नाइनमा ५-ओभर ३९ को खराब प्रदर्शन गर्न पुगे। चार दिनसम्म चल्ने ७२ होलको यस प्रतियोगितामा ३४ व्यावसायिक र २१ एमेच्योर गरी कुल ५५ गल्फरको सहभागिता रहेको छ। ३६ होलको खेलपछि ३४ व्यावसायिक गल्फरमध्ये शीर्ष १८ र एमेच्योरतर्फ पनि शीर्ष खेलाडीहरूले अन्तिम दुई दिनका लागि स्थान सुरक्षित गर्नेछन्।

सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) द्वारा आयोजित यस प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ७५ हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५ हजार र तेस्रो हुनेले ८५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी चौथो र पाँचौँ स्थानमा रहने खेलाडीले क्रमशः ७१ हजार र ६३ हजार रुपैयाँ हात पार्नेछन् भने कुल १८ स्थानसम्मका व्यावसायिक खेलाडीहरूले नगद पुरस्कार पाउने सुनिश्चित गरिएको छ।

1

Scroll to Top