Banijya News

राजस्व संकलनलाई सहज बनाउन महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड

1
1.1K Shares

नेपाल सरकारले राजस्व प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद्मार्फत अन्त:शुल्क प्रशासनमा महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक राजस्व विभागका विभिन्न तहका कर्मचारीदेखि ५२ वटा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) का प्रमुखहरूलाई एकमुष्ट रूपमा अन्त:शुल्क अधिकृतको अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो।

यो निर्णय विशेषगरी अन्त:शुल्क ऐन २०५८ को कानुनी प्रावधानमा आधारित रहेको छ, जसले सरकारलाई अन्त:शुल्क सम्बन्धी विशिष्ट कार्यहरू सम्पादन गर्न निश्चित अधिकारीहरू तोक्ने अधिकार प्रदान गर्दछ। यसपटकको निर्णयमा एउटा विशेष प्रशासनिक पृष्ठभूमि जोडिएको छ। अघिल्लो सरकारले सञ्चालन खर्च कटौती र प्रशासनिक पुनर्संरचनाका क्रममा ३६ वटा राजस्व कार्यालयहरू खारेज गरेको थियो। ती खारेज भएका कार्यालयहरूले गर्ने नियमित कार्यहरू हाल विभिन्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट सम्पादन भइरहेका छन्। तर, कानुनी रूपमा ‘अन्त:शुल्क अधिकृत’ नतोकिएसम्म ती अधिकारीहरूलाई अन्त:शुल्कसँग सम्बन्धित फाइल अगाडि बढाउने वा निर्णय गर्ने अधिकार हुँदैन।

यही कानुनी रिक्ततालाई सम्बोधन गर्न र सेवा प्रवाहलाई निरन्तरता दिन अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले यो नयाँ व्यवस्था गरेको हो। यस निर्णयअनुसार अब आन्तरिक राजस्व विभागका उपमहानिर्देशक, निर्देशक र शाखा अधिकृतहरू मात्र नभई ठूला तथा मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर प्रशासक र कर अधिकृतहरूले पनि आधिकारिक रूपमा अन्त:शुल्क अधिकृतको भूमिका निर्वाह गर्नेछन्। साथै, ५२ वटा जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकहरूलाई समेत आ-आफ्नो क्षेत्र हेर्ने गरी यो जिम्मेवारी सुम्पिएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार, यो एक नियमित प्रक्रिया भए पनि कार्यालयहरूको खारेजी र कार्यक्षेत्रको हेरफेरका कारण यसपालि धेरै कर्मचारीहरूलाई एकैपटक यस्तो अधिकार दिनुपरेको हो, जसले गर्दा राजस्व संकलन र कर प्रशासनमा कानुनी जटिलता हट्ने विश्वास गरिएको छ ।

1

Scroll to Top