स्वरोजगार प्रवर्द्धन र रोजगारी सिर्जनालाई लक्ष्य गर्दै काठमाडौं महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको छ । यस कार्यक्रममार्फत सहुलियत ऋण उपलब्ध गराई उद्यमशीलता विकास गर्ने लक्ष्य राखिएको छ ।
सम्झौतापत्रमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र कोषका प्रशासन शाखा प्रमुख सुदप सिल्वालले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेल, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर तथा सामाजिक समितिका संयोजक रामकुमार के.सी.को उपस्थिति रहेको थियो ।
कार्यकारी उपाध्यक्ष पौडेलले क्षमता र सीप हुँदाहुँदै पनि धेरै युवाले पूँजी अभावका कारण स्वरोजगार बन्न नसकेको बताए । उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा उच्च ब्याजदरको समस्या झेल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै महानगरसँगको सहकार्यले उद्यमशील वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यवाहक प्रमुख डंगोलले सम्मानजनक रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सहुलियत ऋण कार्यक्रम ल्याइएको बताइन् । उनका अनुसार यस योजनाअन्तर्गत ऋणीलाई सुरुवाती चरणमा ८ प्रतिशत ब्याजदर लाग्नेछ भने नियमित रूपमा किस्ता तिर्नेहरूलाई अन्त्यमा ६० प्रतिशत ब्याज अनुदान दिइनेछ । यस व्यवस्थाअनुसार प्रभावकारी ब्याजदर ३.२ प्रतिशत मात्र रहनेछ ।
उनले यो कार्यक्रमबाट ‘एक वडा, एक नमूना उद्यम’ अवधारणा कार्यान्वयनमा सहयोग पुग्ने र विशेषगरी महिला समूह तथा बीउ पूँजी अभावमा रहेका व्यक्तिहरूलाई उद्यम सुरु गर्न अवसर प्राप्त हुने बताइन् ।
कार्यक्रम सञ्चालनका लागि महानगरपालिका र कोषले समान २/२ करोड रुपैयाँ लगानी गरी छुट्टै कोष स्थापना गर्ने सहमति गरेका छन् । उक्त कोषबाट बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत महानगर क्षेत्रका बासिन्दालाई कर्जा उपलब्ध गराइनेछ । पाँच वर्षपछि कोषमा रहेको रकम महानगरपालिकालाई फिर्ता गरिने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार कोषले वित्तीय संस्था तथा सहकारीहरूसँग कर्जा प्रस्ताव माग गर्नेछ । छनोट भएका सहकारी संस्थाहरूलाई अधिकतम १ करोड रुपैयाँसम्म थोक कर्जा उपलब्ध हुनेछ भने बैंक तथा वित्तीय संस्थालाई अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ । निकासा भएको रकम दुई हप्ताभित्र लक्षित ऋणीलाई वितरण गर्नुपर्ने प्रावधान राखिएको छ ।
यस कार्यक्रमले विपन्न वर्ग, महिला, दलित, आदिवासी जनजाति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई प्राथमिकता दिनेछ । साथै, विदेशबाट फर्किएका श्रमिक तथा सीपमूलक तालिम प्राप्त व्यक्तिहरूलाई पनि लक्षित गरिएको छ । व्यक्तिगत रूपमा अधिकतम ५ लाख रुपैयाँसम्म र समूहगत रूपमा १५ जनासम्मको समूहलाई ५० लाख रुपैयाँसम्म ऋण उपलब्ध हुनेछ ।


