Banijya News

मूल्यवृद्धिको मारमा उपभोक्ता, विशेष बजार अनुगमन गरिने

1
1.1K Shares

 

बजारमा बढ्दो मूल्यवृद्धि साथै कृत्रिम अभावका कारण आम उपभोक्ता मारमा पर्ने गरेका छन् । पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिलाई कारण देखाउँदै दैनिक उपभोग्य वस्तुमा समेत अस्वाभाविक मूल्यवृद्धि भइरहेको छ । जसको मारमा आम सर्वसाधारण पर्ने गरेका छन् ।

बजारमा भइरहेको कृत्रिम मूल्यवृद्धि रोक्न र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले देशव्यापी विशेष अनुगमन अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा सरकारले सोमबारदेखि ‘मूल्य पारदर्शिता सप्ताह’ सुरु गर्न लागेको हो ।

यो अभियानको मुख्य उद्देश्य बजारमा वस्तु तथा सेवाको मूल्यलाई पारदर्शी बनाउनु, उपभोक्तालाई सही जानकारी उपलब्ध गराउनु तथा व्यापारी र सेवा प्रदायकलाई जिम्मेवार बनाउनु रहेको छ । बजारमा एउटै वस्तुको फरक–फरक मूल्य लिने, मूल्यसूची नराख्ने र उपभोक्तालाई भ्रमित बनाउने प्रवृत्ति बढेपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो ।

यो अभियान सोमबारदेखि सुरु भएर जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । सप्ताहव्यापी अनुगमनले बजार व्यवस्थापन र उपभोक्ता अधिकार संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर्देशन दिइसकिएको बताइएको छ ।

सरकारले प्रत्येक स्थानीय तहलाई आफ्नो क्षेत्रमा रहेका पसल तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिनुका साथै नियमित अनुगमन गर्न आग्रह गरेको छ । साथै, जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समिति सक्रिय बनाउँदै मूल्य पारदर्शिताबारे जनचेतना अभिवृद्धि गर्ने जिम्मेवारी दिइएको छ ।

केन्द्रीय तथा प्रदेशस्तरीय बजार अनुगमन समितिले बजार निरीक्षण, मूल्य मूल्याङ्कन र नियम उल्लङ्घन गर्ने व्यवसायीमाथि कानूनी कारबाही अघि बढाउने बताइएको छ ।

1

Scroll to Top