Banijya News

गोकर्णेश्वरमा बर्ड फ्लु फैलियो

1
1.0K Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्ड फ्लु अर्थात् ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ पुष्टि भएको छ । बर्ड फ्‌लु फैलिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण र कृषकलाई अपिल गरेको छ ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं. २, ३ र ४ मा संक्रमण देखिएपछि प्रभावित क्षेत्रमा रहेका पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र बनाइएको जनाएको छ ।

संक्रमित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाटलगायत पन्छी, अन्डा र दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने तथा क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने कार्य भइरहेको सूचनामा उल्लेख छ ।

नगरपालिकाले पन्छी फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अन्डा क्रेट पुनः प्रयोग नगर्न र फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधियुक्त फुटबाथ राख्न निर्देशन दिइएको छ ।

कृषकलाई खोरभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न पनि आग्रह गरिएको छ । साथै, कुकुर, बिरालो र मुसाजस्ता जनावरलाई फार्म परिसरमा प्रवेश गर्न नदिन र मरेका पन्छीलाई तुरुन्त सुरक्षित रूपमा व्यवस्थापन गर्न भनिएको छ ।

नगरपालिकाले पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने तथा मासु र अन्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सचेत गराएको छ ।

1

Scroll to Top