नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको आर्थिक कारोबारको आँकडा साँच्चै नै लोभलाग्दो छ । सन् १९९६ मा स्थापना भई सन् २०१८ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको यो कम्पनीले हरेक सेकेन्ड ३ सय ८५ रुपैयाँ, प्रतिमिनेट २३ हजार ८० रुपैयाँ र एक घण्टामा १३ लाख ८४ हजार रुपैयाँको व्यापार गर्दछ ।
यही अनुपातमा कम्पनीको दैनिक व्यापार ३ करोड ३२ लाख ३६ हजार रुपैयाँ र मासिक आम्दानी १ अर्ब १ करोड रुपैयाँ हुन आउँछ । गत आर्थिक वर्षमा मात्रै वर्ल्डलिंकले १२ अर्ब १३ करोड १० लाख रुपैयाँको बिशाल कारोबार गरेको थियो, जुन अघिल्लो वर्ष (११ अर्ब १२ करोड ८० लाख) को तुलनामा ९.०१ प्रतिशतको वृद्धि हो ।
यसरी कुल व्यापार १२ अर्ब बढी हुँदा कम्पनीको सञ्चालन नाफा करिब ४ अर्ब रुपैयाँ अर्थात् ३२।६१ प्रतिशत पुगेको छ । आम्दानीको यसै वृद्धिका कारण कम्पनीको कुल नगद सञ्चिति ९४ करोडबाट बढेर ३ अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको छ भने चालु आर्थिक वर्षको ९ महिनामा मात्रै कम्पनीले ९ अर्ब ५५ करोड ८० लाख रुपैयाँको कारोबार गरिसकेको छ ।
कम्पनीको आम्दानीको मुख्य स्रोतलाई हेर्ने हो भने यसको कुल राजस्वमा व्यक्तिगत (रिटेल) ग्राहकको हिस्सा ४२ प्रतिशत र व्यावसायिक (कर्पोरेट) ग्राहकको हिस्सा ९ प्रतिशत रहेको छ । बाँकी आम्दानी अनुगमन, प्राविधिक सहयोग र उपकरण बिक्रीबाट प्राप्त हुन्छ । प्राविधिक रूपमा पनि वर्ल्डलिंक निकै सुदृढ छस यो नेपालमा ‘एक्सजीएस–पीओएन’ प्रविधि भित्र्याउने र सेटलाइटमार्फत जोडिने पहिलो निजी इन्टरनेट सेवा प्रदायक हो ।
सन् २०१८ देखि फिनल्यान्डको चर्चित नोकिया कम्पनीसँग १० लाख घरधुरीमा फाइबर पुर्याउने गरी साझेदारी गरिरहेको यस कम्पनीले हाल देशभित्र डाटा सेन्टर परियोजनाहरू विकास गर्न छुट्टै विशेष उद्देश्ययुक्त संस्था समेत स्थापना गरेको छ । नयाँ स्थानहरूमा नेटवर्क पूर्वाधार विस्तारका लागि कम्पनीले आफ्नै आन्तरिक सञ्चिति र वैदेशिक इक्विटी लगानीलाई मुख्य पुँजीगत खर्चका रूपमा उपयोग गरिरहेको छ ।
बजार हिस्सा र ग्राहक आकर्षणको मामिलामा वर्ल्डलिंक नेपालको इन्टरनेट प्रदायक क्षेत्रको ३२ प्रतिशत हिस्सा ओगटेर अग्रणी स्थानमा छ । गत आर्थिक वर्षमा देशभर सवा ३ लाख नयाँ इन्टरनेट ग्राहक थपिँदा ३० प्रतिशत हिस्सा (९४ हजार १३ ग्राहक) वर्ल्डलिंक एक्लैले आकर्षित गरेको थियो । हाल चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा देशभरका कुल ३४ लाख ८० हजार इन्टरनेट ग्राहकमध्ये वर्ल्डलिंकसँग मात्रै १० लाख ८० हजार ग्राहक आबद्ध छन् ।
यद्यपि, तीव्र प्रतिस्पर्धाका कारण प्रतिग्राहक औसत आम्दानी मा भने केही दबाब देखिएको छ । सन् २०२४ मा प्रतिग्राहक ९ सय २७ रुपैयाँ रहेको औसत आम्दानी गत वर्ष घटेर ८ सय ४९ रुपैयाँमा सीमित भएको थियो, तर चालु आर्थिक वर्षको ६ महिनामा यसमा केही सुधार भई ८ सय ५९ रुपैयाँ पुगेको छ ।
वित्तीय परिसूचक र वैदेशिक लगानीको दृष्टिकोणले वर्ल्डलिंक निकै सुरक्षित र बलियो बन्दै गएको देखिन्छ । कम्पनीले ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड, डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड र सन् २०२६ को फेब्रुअरीमा फिनिस फन्ड फर इन्डस्ट्रियल कोपरेसनबाट १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ प्राप्त गरेसँगै यसको कुल वैदेशिक लगानी ४ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुगेको छ । यो लगानीका कारण लिभरेज सूचकमा सुधार आई गियरिङ अनुपात गत वर्षको १.०३ गुणाबाट घटेर चालु वर्षको ९ महिनामा ०.४७ गुणामा झरेको छ ।
यस्तै, कम्पनीको ब्याज कभरेज अनुपात पनि ११.८४ गुणाबाट बढेर १३.८९ गुणा पुगेको छ । कम्पनीको कुल ऋण सञ्चालन नाफा भन्दा कम (०.६३ गुणा) भएकाले यसले एक वर्षकै नाफाबाट ऋण तिर्न सक्ने क्षमता राख्दछ, जसका कारण बैंक ऋणको सीमा ३ अर्ब ९४ करोडबाट घटाएर २ अर्ब ७६ करोडमा झारिएको छ । वित्तीय स्वास्थ्यमा आएको यही सुधारका कारण ऋणको रेटिङ समेत परिमार्जन भई ‘केयर एनपी एप्लस’ र ‘केयर एनपी एवान’ कायम भएको छ ।
यति बलियो वित्तीय पृष्ठभूमि र लोभलाग्दो बजार बर्चस्व हुँदाहुँदै पनि वर्ल्डलिंकले केही गम्भीर व्यावसायिक चुनौती र जोखिमहरूको सामना गरिरहनु परेको छ । उपकरणहरू विदेशबाट डलरमा आयात गर्नुपर्ने बाध्यताका कारण विनिमय दरको उतारचढावले कम्पनीलाई ठूलो असर पारेको छ, जसका कारण आर्थिक वर्ष २०२५ मा मात्रै कम्पनीले ११ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विनिमय नोक्सानी ब्यहोरेको छ । यसका साथै नेपाल विद्युत् प्राधिकरणसँगको लामो समयदेखिको पोल भाडा विवाद र सरकारले लगाएको दूरसञ्चार सेवा शुल्कका कारण सिर्जित दायित्वलाई कम्पनीको मुख्य जोखिमका रूपमा हेरिएको छ ।
बजारमा रहेका साना इन्टरनेट प्रदायकहरूले ग्राहक आकर्षित गर्न चाल्ने अस्वभाविक सस्तो मूल्यको रणनीति र ठूला टेलिकम कम्पनीहरूसँगको कडा प्रतिस्पर्धाका बीच पनि कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवाल, मनोज कुमार अग्रवाल र लक्ष्मण कुमार यादवको कुशल नेतृत्वले कम्पनीलाई निरन्तर अगाडि बढाइरहेको छ ।


