नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै ‘बिज२४’ नामक पूर्ण व्यवस्थित वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ। नेपालकै पहिलो मानिएको यो म्यानेज्ड वाइफाइ समाधान व्यवसायीहरूसँगको प्रत्यक्ष संवाद र स्थलगत अध्ययनपछि तयार पारिएको कम्पनीले जनाएको छ। यस सेवाले व्यावसायिक परिसरका सबै भागमा एकनासको र भरपर्दो सञ्जाल सुनिश्चित गर्नुका साथै टाढैबाट आधुनिक प्रविधिमार्फत यसको व्यवस्थापन गर्न सकिने सुविधा प्रदान गर्दछ।
घरायसी इन्टरनेटमा निर्भर रहँदा कार्यक्षेत्रभरि वाइफाइ नपुग्ने, मुख्य समयमा सेवा रोकिने र समस्याको समयमा समाधान नहुने साना व्यवसायीका समस्यालाई मध्यनजर गर्दै यो प्याकेज ल्याइएको वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीले जानकारी दिए। विशेषगरी भोजनालय, स्वास्थ्य क्लिनिक, साना तथा मध्यम पसल, कार्यशाला र साझा कार्यालयहरूका लागि यो सेवा बढी उपयोगी हुनेछ। यसमा व्यवसायको आवश्यकता अनुसार सञ्जाल विस्तार गर्न सकिने सुविधाका साथै निगरानी क्यामेरा तथा विभिन्न सफ्टवेयर सञ्चालनका लागि स्थिर इन्टरनेट ठेगाना (स्टाटिक आईपी) र व्यावसायिक स्तरका उपकरणहरू उपलब्ध गराइनेछ।
यस सेवाअन्तर्गत इन्टरनेटमा कुनै समस्या आएमा तत्काल समाधानका लागि कम्पनीले ०१-५९७००४० मा प्राथमिकतासहितको विशेष ग्राहक सहायता सेवा उपलब्ध गराएको छ। ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन वर्गमा विभाजन गरिएको यो सेवामा ग्राहकले २०० मेगाबिट प्रतिसेकेन्डदेखि १ गिगाबिट प्रतिसेकेन्डसम्मको गति प्राप्त गर्नेछन्। मूल्य अभिवृद्धि करबाहेक वार्षिक ३० हजार रुपैयाँबाट सुरु हुने यो योजना देशभरिका नयाँ तथा पुराना दुवै व्यावसायिक ग्राहकका लागि उपलब्ध गराइएको छ।


