राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। सभापति र एक उपसभापति निर्विरोध निर्वाचित भइसकेकाले हाल बाँकी ५ पदका लागि चुनावी प्रतिस्पर्धा भइरहेको हो। निर्वाचनको अन्तिम नामावली प्रकाशन भइसकेपछि पनि केही नेताहरूले उम्मेदवारी फिर्ता लिने क्रम चलिरहेको छ।
विशेष गरी उपसभापति पदमा सोबिता गौतम र तोसिमा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। यस्तै, महामन्त्री पदका लागि मनिष झा, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्यसहित ५ जनाको नाम अन्तिम सूचीमा छ। महामन्त्रीकै उम्मेदवार रञ्जु दर्शनाले आफ्नो नाम फिर्ता लिएको घोषणा गरे तापनि निर्वाचन आयोगले अन्तिम सूची र विद्युतीय मतदान मेसिन तयार गरिसकेपछि मात्र उक्त जानकारी आएकाले प्राविधिक रूपमा उनको नाम सूचीमै कायमै रहेको छ। यसैगरी, सहमहामन्त्री खुलातर्फ ११ जना र सहमहामन्त्री महिलातर्फ ५ जना चुनावी मैदानमा उत्रिएका छन्।


