साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा कायम भएको छ ।
त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स १.८४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेको छ । त्यस्तै, नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये निर्जीवन बिमा उपसमूहको परिसूचक १।३९ प्रतिशत घटेको छ । त्यस्तै, वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से १६.५४ अंकले बजार घटे पनि चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर भने ५।८३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंकको ८ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


