Banijya News

उच्च तहको कूटनीतिक पहलपछि नेपाली चियाको निर्यात पुनः सुरु

1
1.0K Shares

भारतीय चिया बोर्डले गुणस्तर परीक्षणको बहानामा सिर्जना गरेको झन्डै दुई महिना लामो अवरोध अन्ततः हटेको छ। नेपाल सरकारको उच्च तहबाट भएको निरन्तर कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले कार्यविधिमा ल्याएको लचकताका कारण पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाली चियाको निर्यात पुनः सुरु भएको हो ।

यसअघि गत वैशाख १८ गतेदेखि भारतले नेपालबाट जाने प्रत्येक गाडीको शतप्रतिशत नमुना परीक्षण अनिवार्य गरेपछि निकासी ठप्प बनेको थियो, जसका कारण पहाड र तराईका ८६ वटा चिया उद्योग बन्द हुने अवस्थामा पुगेका थिए भने इलाममा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया गोदाममै थन्किएको थियो ।

यस जटिल समस्यालाई सुल्झाउन प्रधानमन्त्री कार्यालयले विशेष चासो दिँदै प्रत्यक्ष हस्तक्षेप गरेको थियो। प्रधानमन्त्री सचिवालयले असारको पहिलो साता विभिन्न मन्त्रालय र विभागका उपसचिव तथा निर्देशकहरू सम्मिलित एउटा अन्तर-निकाय समिति समेत गठन गरेको छ, जसले दुई साताभित्र चिया निकासीका तत्कालीन र दीर्घकालीन समाधानका उपायसहितको प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ। सरकारको यही सक्रियता र भारतीय पक्षसँगको कूटनीतिक संवाद पछि चिया उत्पादक संघका पूर्वअध्यक्ष उत्तम श्रेष्ठ सहितका व्यवसायीहरूले काँकडभिट्टा र पानीट्यांकी भन्सार हुँदै भारततर्फ चियाका नयाँ खेपहरू पठाउन थालेका छन्।

अहिले भारतले बिनाकुनै सर्त चिया आयात खुला गरेको भने होइन। भारतीय पक्षले हालै परिमार्जन गरेको ‘जोखिममा आधारित परीक्षण प्रणाली’ (र्‍यान्डम इन्टरसेप्सन) अनुसार अब नेपालबाट जाने कुल चियाको २० प्रतिशत अर्थात् प्रत्येक पाँचवटा गाडीमध्ये एउटाको मात्र छड्के जाँच गरिनेछ। यो खुकुलो व्यवस्थाले गर्दा भारतीय बजारमा नेपाली चियाको माग र नयाँ अर्डरहरू धमाधम आउन थालेका छन् । यद्यपि, पानीट्यांकी नाकामा प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि अझै पनि कोलकातातै धाउनुपर्ने बाध्यता छ भने तराईको सिटिसी चियाको सम्झौता हुन अझै बाँकी छ। विगतका झन्झटहरूका कारण व्यवसायीहरू पूर्ण रूपमा ढुक्क भइनसके पनि तत्कालका लागि भने चिया क्षेत्रले ठूलो राहत महसुस गरेको छ।

1

Scroll to Top