Banijya News

धितोपत्र बोर्डका अध्यक्षसँग स्टक ब्रोकर एशोसिएनको भेटवार्ता

1
1.0K Shares

स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग बिहीबार उनको कार्यकक्षमा विशेष भेटघाट गरेको छ। एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको सो टोलीसँगको कुराकानीमा अध्यक्ष डा. भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका प्राथमिकताअनुरूप बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने आश्वासन दिए। साथै, नियामक निकाय, व्यवसायी, सूचीकृत कम्पनी र लगानीकर्ताबीच आपसी समन्वय सुदृढ बनाउँदै आधुनिक प्रविधिको प्रयोगमार्फत बजारलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

त्यस्तै, भेटका क्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले नवनियुक्त अध्यक्ष डा. भट्टलाई बधाई दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि र आवश्यक नीतिगत एवं संरचनागत सुधारका लागि एसोसिएसनले सदैव रचनात्मक सुझाव र सहकार्य गर्ने प्रतिबद्धता जनाए। सो अवसरमा दुई पक्षबीच सरकारी बजेटमा उल्लेखित पुँजी बजारका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र बजारको संस्थागत सुदृढीकरणका विषयमा समेत सघन छलफल भएको थियो।

1

Scroll to Top