Banijya News

बर्डफ्लुको बहानामा खसीको मासुमा कालोबजारी

1
1.0K Shares

काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण फैलिएसँगै बजारमा खसी र राँगाको मासुको मूल्य अचाक्ली बढेको छ । कुखुराको मासुमा बर्डफ्लुको जोखिम देखिएपछि उपभोक्ताहरू खसी र राँगाको मासुतर्फ आकर्षित हुँदा व्यापारी र बिचौलियाले कृत्रिम अभाव र मूल्यवृद्धि गराएको उपभोक्ताहरूको आरोप छ ।

केही समयअघिसम्म प्रतिकिलो १ हजार २ सयदेखि १ हजार ३ सय रुपैयाँ रहेको खसीको मासुको मूल्य हाल बढेर १ हजार ६ सय ५० देखि १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । उपभोक्ताहरू यस मूल्य वृद्धिका कारण आधा किलो मासु समेत किन्न नसक्ने अवस्थामा पुगेका छन् भने सस्तो मासु खोज्दा मिसावटयुक्त र अस्वस्थकर मासु खानुपर्ने जोखिम समेत बढेको छ । खसीको मात्र नभई राँगाको मासुको मूल्य पनि एक महिनामै प्रतिकिलो ५ सय ५० बाट बढेर ७ सय ५० रुपैयाँसम्म पुगेको छ ।

बजारमा मासुको मूल्य आकासिए पनि खुद्रा र थोक व्यवसायीहरूका आफ्नै तर्क छन् । खुद्रा व्यापारीहरूका अनुसार बजारमा जिउँदो खसीकै मूल्य प्रतिकिलो ९ सयदेखि ९ सय ५० रुपैयाँसम्म पुगेको र प्रोसेसिङ खर्च महँगो हुने भएकाले १६ सय ५० रुपैयाँभन्दा कममा शुद्ध खसीको मासु बेच्न नसकिने अवस्था छ । यता थोक व्यवसायीहरू भने माग बढेर भन्दा पनि बजारमा खसीबोकाको आपूर्ति नै घटेकाले मूल्य बढेको दाबी गर्छन् । वर्षा, खेतीपातीको सिजन र भारतबाट आयात रोकिँदा काठमाडौंमा दैनिक आवश्यक पर्ने १ हजार ४ सय देखि १५ सय खसीबोकाको तुलनामा मुस्किलले १ हजार मात्र भित्रिरहेको उनीहरूको भनाइ छ ।

तर, व्यापारी र थोक व्यवसायीको यो दाबीलाई बाख्रापालक किसानहरूको छाता संगठनले भने सिधै अस्वीकार गरेको छ । नेपाल व्यावसायिक बाख्रापालक महासंघका अनुसार काठमाडौंमा दैनिक ४ हजारसम्म खसीबोका नियमित रूपमा भित्रिइरहेका छन् र बर्डफ्लुको बहानामा बिचौलियाहरूले मात्र चलखेल गरेका हुन् । बजारमा उपभोक्ताहरू ठगिइरहँदा र व्यापारीहरूले अकुत नाफा कमाउँदा पनि वास्तविक उत्पादक किसानले भने १० वर्ष पुरानै मूल्य ९प्रतिकिलो ६ सय रुपैयाँ० मा खसीबोका बेच्न बाध्य भई घाटा व्यहोरिरहेका छन् । किसानहरू संगठित रूपमा बजारसम्म पुग्न नसक्दा र उत्पादन लागत अनुसारको मूल्य नपाउँदा धेरै व्यावसायिक बाख्रापालक किसानहरू पलायन हुने अवस्थामा पुगेका छन् ।

नेपाली मासु बजारको झण्डै ३० प्रतिशत माग धान्ने गरेको भारतबाट हुने खसीबोकाको आयात भने हाल पूर्ण रूपमा ठप्प छ । भारतमा पशुहरूमा ुपीपीआरु नामक रोगको संक्रमण देखिएपछि पशु सेवा विभागले सुरक्षा र नेपाली किसानको हितका लागि भन्दै आयातमा रोक लगाएको हो । विभागका अनुसार हाल देशभित्रै पर्याप्त उत्पादन रहेकाले बाहिरबाट खसीबोका ल्याउन आवश्यक छैन । अर्कोतर्फ, बर्डफ्लु नियन्त्रणका लागि सरकारले देशभर करिब साढे ६ लाख कुखुरा तथा पन्छीजन्य पदार्थ नष्ट गरिसकेको छ । पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण र परीक्षणका लागि आउने नमुनाहरू घट्दो क्रममा रहे पनि छिमेकी जिल्ला काभ्रेपलाञ्चोकका बनेपा, पनौती र धुलिखेल क्षेत्रमा भने संक्रमणको जोखिम अझै केही दिन रहन सक्ने देखिएको छ ।

1

Scroll to Top