चितवन र बर्डफ्लु संक्रमण नियन्त्रणमा आएसँगै देशको पोल्ट्री उद्योग पुनः लयमा फर्किन थालेको छ। संक्रमणका कारण घटेको अण्डा, कुखुराको मासु र चल्लाको उत्पादन तथा खपत क्रमशः बढ्न थालेपछि बजार मूल्य पनि उकालो लागेको छ। किसानहरूले लामो समयपछि उत्पादनको उचित मूल्य पाउन थालेका छन् भने उद्योगीहरूले पनि बजारमा सकारात्मक संकेत देखिएको बताएका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि अण्डाको समर्थन मूल्य बढाएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५०० बाट ५३०, मिडियम रु ४७० बाट ५००, एक्सएल रु ५१५ बाट ५४५ र सानो अण्डाको मूल्य प्रतिपेटी ९सात क्रेट० रु २,९०० बाट ३,००० पुर्याइएको छ।
उनका अनुसार बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डाको खपत बढेको, उत्पादन घटेकाले आपूर्ति कम भएको तथा बजारमा माग बढेका कारण समर्थन मूल्य बढाइएको हो। बर्डफ्लुको प्रभावका बेला ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ४५० सम्म झरेको थियो। अहिले पनि किसानले लागत बराबर मूल्य भने पाउन सकेका छैनन्। प्रतिगोटा अण्डाको उत्पादन लागत रु १९।१२ पर्ने भएकाले प्रतिक्रेट कम्तीमा रु ५७३६० पुगेपछि मात्रै लागत उठ्ने उनले बताए।
बर्डफ्लु र एच–९ एन–१ संक्रमणका कारण करिब १० लाख लेयर्स कुखुरा मरेको र चैतदेखि असारसम्म दैनिक अण्डा उत्पादन ४३ लाखबाट २८ लाखमा झरेको सङ्घको तथ्याङ्क छ। दैनिक करिब १५ लाख अण्डा उत्पादन घट्दा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको अध्यक्ष पोखरेलले बताए।
यता, कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ। ह्याचरी उद्योग सङ्घ नेपालका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु ७० पुगेको छ। संक्रमणका बेला उद्योगीहरूले चल्ला प्रतिगोटा रु १५ मा समेत बिक्री गर्न बाध्य भएका थिए। हाल ब्रोइलर चल्लाको उत्पादन लागत प्रतिगोटा रु ६५ र लेयर्स चल्लाको रु १२५ रहेको छ भने लेयर्स चल्ला बजारमा रु १५० मा बिक्री भइरहेको छ।
बर्डफ्लुभन्दा अघि सातामा ४० देखि ४५ लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकामा अहिले २८ देखि ३० लाख मात्रै उत्पादन भइरहेको छ। लेयर्स चल्लाको साप्ताहिक उत्पादन करिब एक लाख रहेको उद्योगले जनाएको छ।
कुखुराको मासु बिक्री पनि सुधारको क्रममा छ। संक्रमणअघि दैनिक नौ लाख किलो बिक्री हुने मासु बर्डफ्लुका बेला पाँच लाख किलो मा झरेको थियो। अहिले दैनिक बिक्री बढेर सात लाख किलो पुगेको छ। किसानले बिक्री गर्ने जिउँदो ब्रोइलर कुखुराको मूल्य पनि प्रतिकिलो रु १५० बाट बढेर रु २१५ पुगेको छ। यद्यपि यो मूल्य अझै पनि संक्रमणअघिको रु २६० भन्दा कम हो।
पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन। पछिल्लो संक्रमण काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा देखिएको थियो। चैत ४ गते पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएपछि चैत ६ गते सरकारले प्रभावित क्षेत्र घोषणा गरेको थियो। पहिलो संक्रमण मोरङको उर्लाबारी–८ र सुन्दरहरैंचा–४ मा देखिएको थियो।
विभागका वरिष्ठ पशु चिकित्सक डा। मुकुल उपाध्यायका अनुसार संक्रमण नियन्त्रणका क्रममा देशभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ३ लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको विभागले जनाएको छ।
बर्डफ्लु नियन्त्रणसँगै बजारमा सुधार देखिए पनि उद्योगीहरू उत्पादन अझै पूर्ण रूपमा पुरानै अवस्थामा नफर्किएको बताउँछन्। उनीहरूले क्षतिको उचित राहत, रोग नियन्त्रणका स्थायी उपाय तथा पोल्ट्री क्षेत्रको पुनरुत्थानका लागि सरकारी सहयोग आवश्यक रहेको बताएका छन्।


