कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिइने तयारी छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार साँझ गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गर्दै अतिक्रमित संंरचना हटाउन निर्देशन दिएकी हुन् ।
अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी छन् । निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना तत्काल हटाउने निर्णय गरिएको छ । गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई कानुनअनुसार अतिक्रमित संरचना खाली गराउन निर्देशन दिँदै स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वयका साथ परिचालन गरिने बताए ।
स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले गत असार ५ गते जारी गरेको १५ दिने सूचना सकिँदासमेत संरचना खाली नगरिनु दुःखद् भएको उल्लेख गर्दै अबको एक साताभित्र अस्पताल परिसर अतिक्रमणमुक्त गराइने बताइन् । उनले सरकारी अस्पतालको सम्पत्ति संरक्षण गर्नु स्वास्थ्य सेवा सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीको सेवाका लागि उपयोग हुनुपर्नेमा जोड दिइन् ।
कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।
यसअघि शनिबार मन्त्री मेहताले कोशी अस्पतालको विस्तृत अनुगमन गर्दै अस्पताल परिसरमै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे प्रारम्भिक छलफल गरेकी थिइन् । साथै आकस्मिक कक्ष, वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गरी सरसफाइ, पूर्वाधार व्यवस्थापन, निर्माण कार्य समयमै सम्पन्न गर्न तथा अतिक्रमित संरचना हटाउने प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिएकी थिइन् ।


