ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले नेपाली बजारमा आफ्नो नयाँ गेमिङ स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी सार्वजनिक गरेको छ। विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको यस स्मार्टफोनमा फ्ल्यागशिप स्तरका गेमिङ फिचर, उन्नत कुलिङ प्रणाली र शक्तिशाली ब्याट्री क्षमता समावेश गरिएको छ। कम्पनीका अनुसार हाइ स्पिड र उत्कृष्ट प्रदर्शनका लागि यसमा १.५के १४४ हर्ज गेमिङ डिस्प्ले, ५५० हर्ज नियो ट्रिगर्स ५.०, गेमिंग इण्डस्ट्रिमै पहिलो पटक प्रयोग गरिएको बिल्ट–इन कुलिङ फ्यान, तथा ८० वाट फास्ट चार्जिङसहितको ६,२१० एमएएच डुअल–सेल ब्याट्री उपलब्ध छ, जसले लामो समयसम्म स्मुथ गेम प्ले र प्रभावकारी हिट म्यानेजमेन्ट सुनिश्चित गर्दछ।
लन्चको अवसरमा जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले अत्याधुनिक कुलिङ प्रणाली र शक्तिशाली ब्याट्रीका साथ यस फोनले उचित मूल्यमा प्रिमियम गेमिङ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, शंकर ग्रुप तथा जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले गेमिङ स्मार्टफोनको बढ्दो मागलाई ध्यानमा राख्दै यसले नेपाली उपभोक्तालाई नवीन प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट मूल्यको संयोजन दिने बताउनुभयो। नेपाली बजारमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस स्मार्टफोनको मूल्य रु. ७७,९९९ निर्धारण गरिएको छ। जगदम्बा मोबाइल्स प्रा. लि. मार्फत नेपालभर उपलब्ध हुने यो फोन ग्राहकहरूले ०% ब्याजदरको ईएमआई (EMI) सुविधामा समेत खरिद गर्न सक्नेछन्।
यसै महिनाको सुरुवातमा जेडटिईले ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको अर्को मोडल नुबिया नियो ५ ५जी पनि रु. ५५,९९९ मा सार्वजनिक गरेको थियो। उक्त फोनमा युनिसोक टी९३०० अल्टिमेट चिपसेट, ६.८ इन्चको १२० हट्र्ज डिस्प्ले, २०,००० वर्ग मिलिमिटर मल्टिलेयर कुलिङ सिस्टम, ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ४५ वाट बाइपास चार्जिङसहितको ६,०५० एमएएच ब्याट्री जस्ता विशेषता रहेका छन्। यसअघि बजारमा रुचाइएको रेडम्याजिक ११ प्रो सहित यी नयाँ मोडेलहरूको आगमनसँगै जेडटिईले नेपालमा आफ्नो गेमिङ स्मार्टफोन पोर्टफोलियोलाई थप सुदृढ बनाउँदै अत्याधुनिक प्रविधिलाई आम प्रयोगकर्तामाझ सहज पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई निरन्तरता दिएको छ।


