सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका निम्ति जापानसँग अनुदान सहायता लिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न जापानसँग दुई अर्ब ८५ करोड जापानी येन (दुई अर्ब ६८ करोड रुपैयाँ) अनुदान सहायता लिने प्रक्रिया सरकारले अघि बढाएको हो ।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि दुई अर्ब ८५ करोड जापानी येन अनुदान सहायतासम्बन्धी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गरिएको,” अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछिको १०० दिनमा गरेका महत्त्वपूर्ण कार्यको सूचीमा भनिएको छ ।
यसअघि, ०८१ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य गरिएको थियो । त्यति बेला १५ अर्ब रुपैयाँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिएको थियो ।
०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पश्चिमतर्फको ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र पूर्वतर्फको ह्यांगर एप्रोनलगायत विस्तार गरिएको थियो ।
०७७ मा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको विस्तार गरिएको थियो । ०७५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत गरिएको थियो ।


