प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानीको वातावरण र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग विशेष छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको यो बैठकमा देशको आर्थिक गतिविधिलाई कसरी चलायमान र बलियो बनाउने भन्नेबारे कुराकानी भयो। उद्योग व्यवसाय सञ्चालनलाई अझ सहज बनाउने, लगानीमैत्री वातावरण तयार गर्ने, नीतिगत झन्झटहरू हटाउने, निजी क्षेत्रको मनोबल बढाउने तथा रोजगारी र उत्पादन वृद्धि गर्ने विषयमा उनीहरूबीच विस्तृत छलफल भएको छ।
यस अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको कुरालाई जोड दिए। उद्योगी व्यवसायीहरूले भोग्दै आएका व्यावहारिक समस्याहरू समाधान गर्न सरकार सधैं तयार रहेको उनले बताए। निजी क्षेत्रमैत्री वातावरण बनाउनका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारहरूलाई सरकारले पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता समेत उनले जनाए।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले पनि आफ्ना सुझावहरू राखेका थिए। उनीहरूले उद्योग–व्यवसायको प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता र सरकारी सेवा प्रवाहमा सरलता ल्याउन माग गरे। साथै, सरकार र निजी क्षेत्रबिच नियमित रूपमा परिणाममुखी संवाद हुनुपर्ने आवश्यकता औंल्याए।
प्रधानमन्त्री शाहले निजी क्षेत्रबाट आएका यी सुझावहरूलाई गम्भीरतापूर्वक लिएका छन्। उनले सम्बन्धित निकायहरू मार्फत आवश्यक सहजीकरण र सुधारका कामहरू तत्काल अघि बढाउने आश्वासन दिएका छन्। आर्थिक सुधारको यो अभियानमा सरकार निजी क्षेत्रसँग हातमा हात मिलाएर अगाडि बढ्ने उनले स्पष्ट पारेका छन्।
उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका प्रमुख तथा पदाधिकारीहरूसँग भएको यो उच्चस्तरीय छलफलले देशको उद्योग व्यवसाय प्रवर्द्धन गर्न, लगानीको वातावरण सुधार्न र आगामी दिनमा निजी क्षेत्रमैत्री नीतिहरू बनाउन ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ।


