बजारमा खसीको मासुको भाउ अचाक्ली बढेपछि सरकारले मूल्यको अधिकतम सीमा तोक्ने तयारी थालेको छ। पछिल्लो समय बर्डफ्लुको डरका कारण कुखुराको मासुको विकल्पमा खसीको मासुको माग बढेको मौका छोपी व्यापारीहरूले प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन्।
काठमाडौँमा खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ६ सय रुपैयाँसम्म पुर्याएर व्यापारीहरूले अभावको कृत्रिम बहाना बनाएको जनगुनासो आएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले यसमा हस्तक्षेप गर्न लागेको हो। कतिपय मासु पसलले खसी पाउनै छाडेको दाबी गरिरहेका बेला कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजार मूल्यमा भएको यो अस्वाभाविक वृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।
मन्त्री चौधरीको सचिवालयका अनुसार बजारको वास्तविक मूल्य र अवस्थाबारे विस्तृत तथ्याङ्क संकलन गरिसकेको मन्त्रालयले अब छिट्टै मूल्यको सीमा तोक्ने तयारी गरिरहेको छ।


