कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको विकट हिमाली क्षेत्रमा पर्ने गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन वितरण गरेको छ। बैंकको स्थानीय गौमुल शाखाले गाउँपालिकासँगको समन्वयमा उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो। यस अभियानले ग्रामीण तथा पहुँचविहीन क्षेत्रका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण विधिलाई प्रवर्द्धन गर्ने, विद्यार्थीहरूलाई डिजिटल साक्षरतासँग जोड्ने र दुर्गम भेगको शैक्षिक गुणस्तरलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।
भौगोलिक विकटता र जटिलताका कारण आधुनिक शैक्षिक स्रोत–साधनको अभाव झेलिरहेका गौमुल क्षेत्रका विद्यालयहरूका लागि यो सहयोग कोशेढुङ्गा साबित हुने बैंकले जनाएको छ। उपलब्ध गराइएका स्मार्ट टेलिभिजनहरूको प्रयोगबाट कक्षाकोठाको सिकाइ प्रक्रिया थप प्रभावकारी, प्रविधिमैत्री र विद्यार्थीका लागि रोचक बन्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमबाट गौमुल गाउँपालिका अन्तर्गत वडा नं ५ को श्री मानाकोट माध्यमिक विद्यालय, वडा नं २ को श्री जनज्योति माध्यमिक विद्यालय, वडा नं १ को श्री अम्लिश माध्यमिक विद्यालय, वडा नं २ को श्री फूलपाता माध्यमिक विद्यालय, वडा नं ६ को श्री किर्तिचौर माध्यमिक विद्यालय र वडा नं ३ को श्री बालविकास माध्यमिक विद्यालय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
शिक्षालाई प्रत्येक बालबालिकाको आधारभूत अधिकार मान्दै कुमारी बैंकले ग्रामीण र सहरी क्षेत्रबीच कायम रहेको शैक्षिक अवसर तथा भौतिक स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। स्मार्ट टेलिभिजनको माध्यमबाट विद्यार्थीहरूले विभिन्न डिजिटल सामग्री, श्रव्य–दृश्य पाठहरू र आधुनिक प्रविधिसँग साक्षात्कार गर्ने अवसर पाउनेछन्। यस व्यवस्थाले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पनि सहरी क्षेत्रका विद्यार्थी सरह नै आधुनिक र प्रविधिमैत्री शिक्षा हासिल गर्दै समान शैक्षिक अधिकार उपभोग गर्ने वातावरण तयार पार्नेछ।
लामो समयदेखि ‘समुदायका लागि कुमारी बैंक’ भन्ने उत्तरदायी भावनाका साथ क्रियाशील यस बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा समग्र सामुदायिक विकासका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ। शिक्षा क्षेत्रमा गरिएको यस पछिल्लो लगानीले भोलिका कर्णधारहरूलाई डिजिटल युग सुहाउँदो ज्ञान र प्राविधिक सीप हासिल गर्न थप प्रेरित गर्नेछ। साथै, यस कार्यले स्थानीय स्तरमा शैक्षिक गुणस्तरको सुधार र विकासमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ।


