त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । र, उनको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका–०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् । उनले बिहीबार दिउँसो करिब १ः४५ बजेको समयमा काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै यस्तो अप्रत्याशित कदम चालेका हुन् ।
उनले आफूले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकाली आफ्नै शरीरमा छर्किएर आगो लगाएको प्रत्यक्षदर्शी र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


