रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ विरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रम बालेनको पुतला दहन गर्दै प्रदर्शन गरेका हुन् ।
मौलापुर नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएको र त्यसका कारण बजेट फ्रिज हुने अवस्था आएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । उनीहरूले नगरपालिकाको नियमित सेवा, भुक्तानी र विकास निर्माण प्रभावित भएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
प्रदर्शनकारीहरूले ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित अदालतको आदेश पालना गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’, ‘मौलापुरमा हाकिम पठाऊ’ र ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने समयमा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु गलत भएको उनीहरूको भनाइ छ ।
यसअघि सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो । तर, त्यसपछि अर्को अधिकृत नपठाइँदा नगरपालिकाको कामकाज प्रभावित भएको आन्दोलनरत पक्षको आरोप छ ।


