काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । आगोले उनको अनुहार, टाउको र घाँटीसहित शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका थिए । अस्पताल ल्याउनासाथ श्वासप्रश्वासमा ठूलो समस्या देखिएपछि उनलाई आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
उनको जीवन बचाउन वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा। पियूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सक टोली चौबीसै घण्टा खटिएको थियो । यस टोलीमा युनिट प्रमुख डा.अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा। निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले उपचारका क्रममा नेपालीको निधन भइसकेको पुष्टि गरे पनि अस्पताल प्रशासनले भने यसबारे अझै औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।


