संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी निकायको बेरुजु अध्ययन र फर्छ्योटलाई प्रभावकारी बनाउन पाँच वटा विषयगत उपसमिति गठन गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारी निकायलाई पाँच समूहमा विभाजन गर्दै उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका सभापति भरतबहादुर खड्काले आर्थिक पारदर्शिता कायम गर्ने र थुप्रिएका बेरुजु समयमै फर्छ्योट गर्ने उद्देश्यले उपसमिति गठन गरिएको बताए।
अर्थ तथा सुशासन उपसमितिको संयोजकमा रुकेश रञ्जित चयन भएका छन्। यस उपसमितिले अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित बेरुजुको अध्ययन गर्नेछ।
राज्य सुरक्षा, न्याय, कानुन तथा प्रशासन उपसमितिको संयोजकमा यज्ञबहादुर बोगटी चयन भएका छन्। यस उपसमितिले गृह, रक्षा, परराष्ट्र तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, संघीय संसद् सचिवालय, लोक सेवा आयोग र निर्वाचन आयोगको बेरुजु अध्ययन गर्नेछ।
भौतिक पूर्वाधार, पर्यटन तथा विकास उपसमितिको संयोजकमा खुश्बु ओली चयन भएकी छन्। उक्त उपसमितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित बेरुजु हेर्नेछ।
आर्थिक उत्पादन, विज्ञान–प्रविधि, वातावरण तथा मानव विकास उपसमितिको संयोजकमा खगेन्द्र सुनार चयन भएका छन्। यस उपसमितिले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बेरुजुको अध्ययन गर्नेछ।
सामाजिक न्याय, कल्याण तथा समावेशीकरण उपसमितिको संयोजकमा मनिष झा चयन भएका छन्। यस उपसमितिले स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका साथै राष्ट्रिय मानव अधिकार आयोग र विभिन्न समावेशी आयोगसँग सम्बन्धित बेरुजु अध्ययन गर्नेछ।
सभापति खड्काले उपसमितिले सम्बन्धित निकायसँग समन्वय गरेर बेरुजुको अवस्था, कारण र समाधानका उपायसहितको प्रतिवेदन समितिमा पेस गर्ने बताए। उपसमिति गठनसँगै लेखा समितिको कामले अब थप गति लिने विश्वास पनि उनले व्यक्त गरे।
उनले विषयगत समितिको उद्देश्य पूरा गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिको काम प्रभावकारी बनाउन सहकार्य गर्न आग्रह गरे।
यसअघि उपसमिति संयोजकको विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको थियो। शुक्रबार भने सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तीन उपसमितिको नेतृत्व पाएको छ भने नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक उपसमितिको नेतृत्व पाएका छन्।


