रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले विभिन्न चार क्षेत्रमा सात हजार २०० जनाको कोटासहित आवेदन आहवान गरेको हो ।
एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा पाँच हजार, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार, सेवा क्षेत्रमा १०० र वन क्षेत्रमा १०० जनाको माग आएको शाखाले जनाएको छ ।
आवेदन आगामी जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म अनलाइनमार्फत दिन सकिनेछ । आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ । परीक्षामा सहभागी हुन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।
आवेदकले फौजदारी अभियोगमा सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नपठाइएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको हुनुपर्नेछ । त्यस्तै, दक्षिण कोरियामा ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी बसेका व्यक्तिले आवेदन दिन पाउने छैनन् ।
पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन हुनेछ । अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा दुई वर्षसम्म मान्य हुनेछ । ईपीएस कोरिया शाखाले भाषा परीक्षा उत्तीर्ण हुँदैमा दक्षिण कोरियामा रोजगारी सुनिश्चित नहुने पनि स्पष्ट पारेको छ ।


