नेपालका लागि रोयल इन्फिल्ड सवारी साधनको आधिकारिक उत्पादक तथा वितरक टीजी अटो ग्रुप ले गत आर्थिक वर्षको पहिलो ९ महिनामा ४ अर्ब १० लाख रुपैयाँको बलियो व्यापार गरेको छ। कम्पनीको कारोबारमा लगातार सुधार भइरहेको देखिन्छस जहाँ सन् २०२५ मा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ र सन् २०२४ मा २ अर्ब ९६ करोड ९० लाख रुपैयाँको व्यापार भएको थियो। सवारी साधनको बिक्री परिमाण बढ्नुका साथै मूल्यमा आएको सुधारले व्यापारलाई बढावा दिएको हो।
कारोबारसँगै कम्पनीको नाफा र नगद सञ्चितिमा पनि उल्लेख्य प्रगति भएको छ। गत आवको ९ महिनामा कम्पनीको सञ्चालन मार्जिन बढेर ८.४८ प्रतिशत पुगेको छ, जुन सन् २०२५ मा ६.५७ प्रतिशतमा सीमित थियो। यसैगरी, सन् २०२५ मा १९ करोड ७० लाख रुपैयाँ रहेको कुल नगद सञ्चिति समीक्षा अवधिमा वृद्धि भई २६ करोड ७० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय स्वास्थ्य र ऋण भुक्तानी क्षमतामा पनि सुधार आएको देखिन्छ। नाफाको सञ्चिति बढेको र कुल कर्जा घटेका कारण गियरिङ अनुपात सन् २०२५ को १।६३ गुणाबाट सुधार भई ०.१२ गुणामा झरेको छ। त्यस्तै, कम्पनीको ब्याज कभरेज अनुपात १९.९९ गुणाबाट बढेर २५.७३ गुणा पुगेको छ भने कुल ऋण र नगद सञ्चितिको अनुपात ०.१६ गुणा कायम भएको छ।
त्रिवेणी ग्रुपद्वारा सन् २०२२ मा स्थापित यस कम्पनीले मे २०२३ देखि व्यावसायिक कारोबार सुरु गरेको थियो। कम्पनीले बारा जिल्लामा १ लाख वर्गफिट क्षेत्रफलमा वार्षिक २० हजार सवारी साधन उत्पादन क्षमता भएको एसेम्ब्ली प्लान्ट निर्माण गरी उत्पादन गर्दै आएको छ। वीरेन्द्रकुमार संघाई अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँ को रेटिङ समेत गराएको छ।


