नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागलाई पत्राचार गर्दै प्राधिकरणले मासिक रूपमा विद्युत् खपतको रिडिङका आधारमा बिलिङ गर्ने व्यवस्था रहेको उल्लेख गरेका छन्।
सोहीअनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतको बिलिङ २०८३ साउन १ गतेदेखि हुने अवस्थामा उक्त खपतमा भ्याट आकर्षित हुने वा नहुने विषयमा स्पष्ट धारणा उपलब्ध गराइदिन विभागसँग अनुरोध गरिएको छ।
विद्युत् बिलमा भ्याट लागू हुने विषयमा उपभोक्तामाझ अन्योल देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राधिकरणलाई कानुनी तथा व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएका थिए।
मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि अनावश्यक आर्थिक भार पर्न नहुनेमा जोड दिँदै देखिएको अन्योल तत्काल अन्त्य गर्न आवश्यक पहल गर्न प्राधिकरणलाई निर्देशन दिएका छन्।
प्राधिकरणले आन्तरिक राजस्व विभागबाट प्राप्त हुने रायका आधारमा असार महिनाको विद्युत् खपतमा भ्याट लागू हुने वा नहुने विषयमा आवश्यक निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाउने जनाएको छ।


