स्वास्थ्यप्रति बढ्दो सचेतनालाई ध्यानमा राख्दै बराह एग्रो फुड्सले शतप्रतिशत प्राकृतिक र गुणस्तरीय ‘बराह मोरिङ्गा’ (सजिवनरशितलचिनी) औपचारिक रूपमा बजारमा ल्याएको छ। राजधानीमा आयोजित एक विशेष समारोहका बीच महिला आर्थिक सशक्तीकरणकी अगुवा एवं पूर्वमन्त्री भगबती चौधरीले उक्त उत्पादनको सार्वजनिक गरिन्।
सुनसरीको बराहक्षेत्र–१ मा उत्पादित यो मोरिङ्गा भिटामिन, खनिज र प्रोटिनको उत्कृष्ट स्रोत भएकाले मानिसको प्रतिरोधात्मक क्षमता बढाउन र निरोगी जीवनशैली अपनाउन निकै उपयोगी हुने उनले बताइन्। पूर्वमन्त्री चौधरीका अनुसार प्राकृतिक पोषक तत्वले भरिपूर्ण मोरिङ्गाले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्नुका साथै मधुमेह र उच्च रक्तचाप जस्ता आधुनिक जीवनशैलीजन्य समस्या नियन्त्रणमा सहयोग पुर्याउँछ।
यो अभियान केवल स्वास्थ्य सुधारमा मात्र सीमित नभई स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै ग्रामीण महिला उद्यमशीलता र युवा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको हो। यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
यो परियोजना ग्रामीण महिला उत्सुकता विकास मञ्चको प्राविधिक व्यवस्थापनमा स्थानीय आदिवासी तथा जनजाति महिलाहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको छ। कार्यक्रममा युएनडिपी, डी जेड आइ फाउन्डेसन र एलडब्लूआर जस्ता संस्थाहरूको वित्तीय तथा प्राविधिक सहयोग रहेको छ।
समारोहमा विभिन्न क्षेत्रका विज्ञहरूले मोरिङ्गाको औषधीय महत्वबारे चर्चा गर्दै यसको उत्पादन विस्तारले ग्रामीण महिलाहरूको आर्थिक सबलीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए। नियमित सेवनकर्ताहरूले मोरिङ्गाका स्वास्थ्यवर्द्धक अनुभव साझा गर्दै यसलाई आधुनिक प्याकेजिङका साथ अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सुझाव दिएका छन्।
सोही क्रममा फरवार्ड नेपालका प्रमुख कार्यकारी निर्देशक द्रव्यराज चौधरीले बराह मोरिङ्गाको शुद्धता र उच्च गुणस्तरमा कुनै सम्झौता नगरिने प्रतिबद्धता जनाए। आगामी दिनमा यसको ब्रान्डिङ र बजार विस्तारलाई अझ व्यवस्थित र देशव्यापी रूपमा लैजाने रणनीति संस्थाले लिएको छ।.


