त्रिभुवन विश्वविद्यालयको एमबीए परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गम्भीर ध्यानाकर्षण गराउँदै छानबिनको माग गरेको छ। स्ववियुले दुई दिनभित्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न विश्वविद्यालय प्रशासनलाई कडा चेतावनी दिएको छ।
स्ववियु अध्यक्ष दीपक जोशीले विश्वविद्यालयको गरिमा र परीक्षाको निष्पक्षतामाथि प्रश्न उठेकाले यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। प्रश्नपत्र कसरी र कसको संलग्नतामा लिक भयो भन्ने स्पष्ट हुनुपर्ने भन्दै उनले यदि दुई दिनभित्र सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गरिएन भने व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन ।
यसैबीच, प्रश्नपत्र बाहिर ल्याएको आरोपमा प्रहरीले आजै दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै विश्वविद्यालयले पनि सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिसकेको छ।


