राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले आफ्नै क्षेत्रका मतदातालाई धाकधम्की दिएको गम्भीर भिडिओ सार्वजनिक भएको छ। कैलालीको लम्कीचुहा अस्पतालको सेवा र विद्यमान समस्याबारे आयोजित एक सार्वजनिक छलफलका क्रममा सांसद खनालले प्रश्न उठाउने स्थानीय नागरिकलाई लक्षित गर्दै आक्रोशित हुँदै धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन्।
जनप्रतिनिधिले नै नागरिकमाथि प्रस्तुत गरेको यो आक्रामक शैलीले अहिले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा ठूलो तरंग पैदा गरेको छ। नागरिकका गुनासा, जिज्ञासा र सुझाव सुन्ने उद्देश्यले आफ्नो निर्वाचन क्षेत्रमा पुगेका सांसद खनाल सोही छलफलका दौरान असहज रूपमा प्रस्तुत भएका छन्। सार्वजनिक भएको भिडिओ फुटेजमा उनले औंला ठड्याउँदै निकै आक्रामक स्वरमा प्रश्नकर्तालाई तर्साउन खोजेको प्रष्ट देखिन्छ। भिडिओमा उनले, ‘कल्ले भन्यो प्रमाण छ ? हाल्छु? जाक्छ? समाएर अनि थाहा हुन्छ’ भन्दै धम्की दिएका छन् भने ‘यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ, अनाधिकृत बोल्न मिल्छ?’ भन्दै आक्रोश पोखेका छन्।
उक्त छलफलको मुख्य विषय लम्कीचुहा अस्पतालको सञ्चालन र व्यवस्थापन रहेको थियो। कार्यक्रममा सांसद खनालले अस्पताल नियमित रूपमा सञ्चालन हुनुपर्ने र त्यसका लागि स्थानीय तथा प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने धारणा राखेका थिए। यदि प्रदेश सरकारले यसको जिम्मा लिन नसकेको खण्डमा संघ सरकारमार्फत अस्पताल सञ्चालन गर्ने विकल्प पनि उनले अगाडि सार्नुभएको थियो।
अस्पताल सुधार र सेवाप्रवाहका विषयमा सार्थक बहस हुनुपर्ने ठाउँमा सांसद खनाल उल्टै आक्रोशित बनेर मतदातामाथि खनिएपछि उनको चौतर्फी आलोचना भइरहेको छ। जनताका प्रतिनिधि बनेर गाउँ पुगेका सांसदले आफ्नै मतदातासँग संवाद गर्दा देखाएको यो असहिष्णु र धम्कीपूर्ण व्यवहारले जनप्रतिनिधिको आचारसंहितामाथि नै गम्भीर प्रश्न उठाएको छ। घटनापछि स्थानीय बासिन्दा र सर्वसाधारणले सांसद खनालको यस प्रकारको नीच र गैरजिम्मेवार अभिव्यक्तिको तीव्र विरोध गरेका छन्।


