एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सामान्य वृद्धि दर्ज गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ थियो। नाफा बढे पनि चुक्ता पूँजी वृद्धि भएका कारण बैंकको प्रतिशेयर आम्दानीमा भने केही गिरावट आएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भने सुस्त सुधार देखिएको छ। असार मसान्तसम्म बैंकले ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.९७ प्रतिशतको सामान्य वृद्धि हो। त्यसैगरी, बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
वित्तीय विवरण अनुसार बैंकले शेयरधनीहरूलाई आकर्षक लाभांश बाँड्न सक्ने बलियो आधार तयार गरेको छ। नियमनकारी समायोजनपछिको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सञ्चित नाफा समायोजन गर्दा कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ।
बैंकको पूँजीगत आधार र व्यवसायको आकार दुवैमा विस्तार भएको छ। चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ भने कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा ग्राहक निक्षेप ५।७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ र कर्जा प्रवाह १०.३७ प्रतिशतले बढेर २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ, जसका कारण बैंकको कुल सम्पत्ति ५.५३ प्रतिशतले वृद्धि भई ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।


