प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठले मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई दुवै देशका सुरक्षा तथा द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा लिइएको छ । उक्त भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, भेटका क्रममा नेपाल–भारतबीचका पारस्परिक हितका विषयसहित दुई देशबीचको सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौँ आएका हुन् । भ्रमणको दोस्रो दिन सोमबार उनले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा द्विपक्षीय भेट गरेका थिए । भेटमा दुई देशबीचको सैन्य सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल भएको थियो ।
सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा भारतीय स्थल सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
नेपाल भ्रमणका क्रममा निर्धारित कार्यक्रम पूरा गरेपछि सेठ बुधबार भारत फर्किने कार्यतालिका रहेको छ ।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ ।


