नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सेवा पुनः सञ्चालनमा ल्याउन नेपाली सेनाले सुरु गरेको एक्रो ब्रिज जडानको कार्य ५ दिनभित्रै सफलतापूर्वक सम्पन्न भएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले साविकको पक्की पुल बगाएपछि यस क्षेत्रका सर्वसाधारण तथा यात्रुहरूले ठूलो सास्ती खेप्नुपरेको थियो। आवतजावतलाई सहज बनाउन सेनाको प्राविधिक टोली निरन्तर खटिएर छोटो समयमै पुल निर्माण सम्पन्न गर्न सफल भएको हो।
नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदल यात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारी साधनहरूसमेत सञ्चालनमा ल्याइने भएको छ। भोटेकोशीको बाढीले पक्की पुल बगाउँदा नुवाकोट र आसपासका क्षेत्रहरूको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद हुन पुगेको थियो। अब भने नयाँ पुल सञ्चालनमा आउने निश्चित भएसँगै दैनिक आवतजावत सहज हुने आशा गरिएको छ।
नेपाली सेनाले विपदको घडीमा देखाएको यो तदारुकता र छोटो समयमै पूरा गरेको पुल जडान कार्यले स्थानीयवासी, व्यापारी तथा सर्वसाधारणलाई ठूलो राहत मिलेको छ। यातायात सम्पर्क पुनः जोडिएपछि यस क्षेत्रको जनजीवन सामान्य बन्दै जाने र आर्थिक तथा व्यापारिक गतिविधिहरूले पनि पुनः गति लिने विश्वास लिइएको छ।

