Banijya News

भ्रामक औषधि प्रचार रोक्न आयुर्वेद चिकित्सा परिषद्को चेतावनी

1
1.0K Shares

आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोग निको पार्ने दाबी गर्दै गरिने भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

परिषद्ले सार्वजनिक गरेको सूचनामार्फत क्यान्सर, पाइल्सलगायत जटिल रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचार गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको हो । यस्ता विज्ञापनमा रोग शतप्रतिशत निको हुने, उपचारबाट लाभ नभए पैसा फिर्ता गर्ने जस्ता दाबीसमेत गरिँदै आएको परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार प्रमाण र कानुनी आधारबिना गरिने यस्ता प्रचारप्रसारले सर्वसाधारणलाई भ्रमित पार्नुका साथै स्वास्थ्यमा समेत जोखिम निम्त्याउन सक्छ । त्यसैले, दर्ता नभएका औषधिको बिक्री तथा रोग उपचारसम्बन्धी अतिरञ्जित र भ्रामक दाबी तत्काल रोक्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरिएको छ ।

परिषद्ले कानुनविपरीत यस्ता गतिविधि सञ्चालन गरिरहेका वा गराइरहेका पक्षलाई सूचना जारी भएको मितिले १५ दिनभित्र त्यस्ता कार्य बन्द गर्न वा गराउन निर्देशनात्मक आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र पनि सूचनाको अवज्ञा गरी गैरकानुनी वा अवाञ्छनीय गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने परिषद्ले स्पष्ट पारेको छ । साथै, औषधि तथा उपचारसम्बन्धी जानकारी सार्वजनिक गर्दा कानुनी मापदण्ड र सत्यतथ्यमा आधारित हुनुपर्नेमा परिषद्ले जोड दिएको छ ।

1

Scroll to Top