Banijya News

१६ वर्षको प्रतीक्षापछि राहुघाटको ४० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडियो

1
1.0K Shares

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण सम्पन्न भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अन्ततः राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको यस आयोजनाका २०र२० मेगावाटका दुईवटै युनिटबाट उत्पादित बिजुली कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनमार्फत ग्रिडमा समाहित गरिएको हो। २०६७ सालमा ३२ मेगावाटबाट निर्माण प्रक्रिया थालिए पनि अनेकौँ प्राविधिक र व्यवस्थापकीय बाधा पार गर्दै १६ वर्षपछि आयोजनाले १५ दिने परीक्षण उत्पादन सुरु गरेको छ।

जटिल भौगोलिक बनावट, बाढीपहिरो र कोभिड महामारी जस्ता गम्भीर चुनौतीहरूलाई पन्छाउँदै सम्पन्न गरिएको यस आयोजनालाई हिउँदको विद्युत् संकट टार्ने मुख्य आधारका रूपमा हेरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजनाबाट सुख्खायाममा साँझको अत्यधिक माग हुने समयमा दैनिक चार घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न सकिनेछ। वार्षिक रूपमा उत्पादन हुने कुल २४ करोड ७९ लाख युनिट विद्युत्मध्ये करिब ३४ प्रतिशत ऊर्जा सुख्खायाममै प्राप्त हुनेछ।

निर्माण अवधिको ब्याजबाहेक ९ अर्ब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण लगानी रहेको छ। सिभिल तथा हाइड्रोमेकानिकल संरचनाका लागि जयप्रकाश एसोसिएट्स र इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल लिमिटेडसँग ईपीसी ढाँचामा ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइएको थियो। आयोजनाको सम्पूर्ण निर्माण सुपरीवेक्षण भने भारतको वाप्कोस लिमिटेडले गरेको हो।

सुरुमा प्राधिकरण आफैँले ३२ मेगावाट क्षमतामा निर्माण थालेको भए पनि प्रारम्भिक ठेकेदार कम्पनी आईभीआरसीएलको कमजोर कार्यसम्पादनका कारण ठेक्का रद्द गर्नुपरेको थियो। त्यसपछि प्राधिकरणले आयोजनाको क्षमता परिमार्जन गरी ४० मेगावाट पुर्‍यायो र कम्पनी मोडलमा लगेर रघुगंगा हाइड्रोपावर लिमिटेडमार्फत नयाँ ठेक्का सम्झौता गरी आयोजनालाई सफलतापूर्वक सम्पन्न गराएको हो।

1

Scroll to Top