मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी क्षेत्रमा अत्यधिक भारी वर्षा हुने र यसले ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिएपछि त्यस क्षेत्रका सबै जलविद्युत आयोजनाहरूमा उच्च सतर्कता अपनाइएको छ। बाढी तथा पहिरोजस्ता सम्भावित प्राकृतिक विपत्तिको जोखिमलाई मध्यनजर गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले गण्डकी बेसिनमा सञ्चालित तथा निर्माणाधीन साना(ठूला सम्पूर्ण आयोजनाहरूलाई पूर्ण रूपमा ‘हाइ अलर्ट’ मा बस्न निर्देशन दिएको हो।
सरकारका साथै नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका आयोजनाहरू समेत जोखिम न्यूनीकरणका लागि एकीकृत रूपमा सक्रिय भएका छन्। प्राधिकरणले आफ्ना मातहतका आयोजनाहरूलाई मौसमको पलपलको सूचना लिँदै आवश्यक सुरक्षा प्रविधि र सतर्कता अपनाउन भनिसकेको छ भने निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकहरूको छाता संस्था इप्पानले पनि प्राधिकरणसँग प्रत्यक्ष समन्वय गर्दै आफ्ना सबै सदस्य आयोजनाहरूलाई पूर्वतयारी अवस्थामा रहन पत्राचार र ताकेता गरिरहेको छ।
पूर्वाधार तथा जनधनको सुरक्षालाई प्राथमिकतामा राख्दै बिहीबार साँझ बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विशेष निर्देशन जारी गरेका छन । विगतमा भोटेकोशीमा आएको भीषण बाढीले पुर्याएको ठूलो भौतिक क्षति र त्यसबाट सिकेको पाठलाई ध्यानमा राख्दै मन्त्री श्रेष्ठले गण्डकीलगायतका सम्भावित जोखिमयुक्त क्षेत्रमा रहेका सबस्टेसन, प्रसारण लाइन र जलविद्युत संरचनाहरूको सुरक्षाका लागि निरन्तर अनुगमन र पूर्वतयारी चुस्त राख्न ताकेता गरे।
यसैबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले गण्डकी बेसिनका सम्पूर्ण आयोजनाहरूलाई २४ सै घण्टा उच्च सतर्कतामा राखिएको स्पष्ट पारे। पूर्वसूचना प्रणाली र क्षति न्यूनीकरणका लागि इप्पानका प्रतिनिधि स्वयं प्राधिकरणको टोलीसँगै खटिएर सहकार्य गरिरहेका छन्। यसअघि भोटेकोशी बाढीका कारण जलविद्युत संरचना र सबस्टेसनहरूमा क्षति पुग्दा राष्ट्रिय प्रसारण ग्रिडबाट करिब १० प्रतिशत विद्युत प्रवाह अवरुद्ध हुन पुगेको पृष्ठभूमिमा यसपटक सम्भावित नोक्सानी रोक्न आयोजना स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

