लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाको फोहर संकलन तथा ढुवानी सेवा केही समय प्रभावित हुने भएको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरो गएपछि फोहर व्यवस्थापनमा असहजता उत्पन्न भएको जनाएको हो ।
महानगरका अनुसार फोहर विसर्जन हुँदै आएको ल्याण्डफिल साइटमा समेत पहिरो गई लेदोसहितको माटो खसिरहेको छ । यसका कारण फोहर ढुवानी तथा विसर्जनको काम प्रभावित भएको महानगरले जनाएको छ ।
फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहर आफ्नै परिसरभित्र सुरक्षित रूपमा राख्न महानगरले आग्रह गरेको छ । साथै सड्ने र नसड्ने फोहर छुट्याएर सुरक्षित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
महानगरले सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला तथा अन्य खुला स्थानमा फोहर नफाल्न विशेष आग्रह गरेको छ । सडकमा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत समस्या हुन सक्ने महानगरको भनाइ छ ।
वर्षा रोकिएर ल्याण्डफिल साइटको अवस्था सामान्य भएपछि फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

