म्याग्दीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकी नदीले बगाएको छ । पुल बगाएपछि यस क्षेत्रको यातायात सम्पर्क थप प्रभावित भएको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मुख्य सडकमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको बेनी–जोमसोम सडकखण्डमा समेत पहिरो र नदी कटानले समस्या निम्त्याएको हो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगेसँगै गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बस्तीहरू मुस्ताङसँगको सडक यातायातबाट विच्छेद भएका छन् । वैकल्पिक सडकमार्गसमेत प्रभावित भएपछि स्थानीयको आवतजावत तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा कठिनाइ भएको छ ।
यसैगरी, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एउटा र वडा नम्बर ३ को फगाममा अर्को घर पहिरोमा पुरिएको छ । पहिरोमा पुरिएका दुई जनाको अवस्था अझै पत्ता लाग्न नसकेको र खोजी कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ ।
बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकी नदीले सडक कटान गरेको छ । यस्तै, अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ ।
लगातारको वर्षा र नदीको बहाव बढेसँगै सडक तथा पुलमा क्षति बढेपछि स्थानीय तहले जोखिमयुक्त क्षेत्रमा आवतजावतमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

