Banijya News

कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

1
1.0K Shares

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ । गए रातिदेखि परेको अविरल वर्षापछि नदीको बहाव बढ्दा फर्सेमा नदी आसपासका घरहरू बाढीको चपेटामा परेका हुन् ।

सशस्त्र प्रहरीका अनुसार बाढीका कारण हालसम्म ६६ घर पूर्ण रूपमा बगेका छन् । थप २३ घर उच्च जोखिममा परेका छन् । नदीको बहाव निरन्तर बढिरहेकाले जोखिममा रहेका घर तथा आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

बाढीको जोखिम बढ्नुअघि नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ । अहिले उच्च जोखिममा रहेका २३ घरबाट महत्वपूर्ण सामान तथा अन्य सामग्री सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

अविरल वर्षाका कारण कालीगण्डकी नदीको जलसतह र बहाव बढिरहेको हुँदा नदी किनारका बस्तीमा जोखिम कायमै रहेको छ । प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा व्यवस्थापनको काम भइरहेको छ ।

स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन् । वर्षा नरोकिएमा नदी आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने भएकाले निगरानी बढाइएको छ ।

1

Scroll to Top