Banijya News

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको बिदाइ भेट

1
1.0K Shares

प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्का समयमा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरेका छन् । साथै, नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले भूमिका खेलेकोप्रति पनि धन्यवाद ज्ञापन गरे ।

भारतले अगस्टको विनाशकारी बाढीपछि नेपाललाई मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई बुद्धको प्रतिमासमेत प्रदान गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

राजदूत श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी केही दिनमै भारत फर्किने तयारीमा छन् ।

राजदूत श्रीवास्तवले यसअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि बिदाइ भेट गरेका थिए । उक्त भेटमा ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार, कनेक्टिभिटी तथा दुई देशबीचको जनस्तरीय सम्बन्धबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री खनालले पनि बाढीपछिको खोज, उद्धार तथा राहतमा भारतले देखाएको सहयोगको प्रशंसा गरेका थिए ।

श्रीवास्तवको कार्यकाल सकिन लागेसँगै नेपालस्थित विभिन्न सरकारी तथा व्यावसायिक निकायले पनि उनको बिदाइ कार्यक्रम आयोजना गरिरहेका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघले समेत हालै उनको सम्मानमा बिदाइ कार्यक्रम आयोजना गरेको थियो ।

1

Scroll to Top