Banijya News

१५ हजार युवालाई तालिम

1
1.1K Shares

काठमाडौं, कात्तिक ४
सरकारले श्रमबजारमा प्रवेश गर्ने १५ हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगार बोर्डमार्फत सञ्चालन गरिने निःशुल्क आधारभूत तहको तालिमको पहिलो प्राथमिकतामा भने वैदेशिक रोजगारीमा आबद्ध युवाहरु र तिनीहरुको पारिवारिक सदस्य रहने बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए ।

न्यूनतम सीप सिकाएर मात्रै नेपाली जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नेपाल सकारको उद्देश्यअनुरुप बोर्डले निःशुल्क सीप तालिम सञ्चालन गर्न लागेको बताउँदै निर्देशक श्रेष्ठले विदेश जानेलाई पहिलो प्राथमिकतामा राखे पनि सीप सिकेर स्वदेशमै काम गर्न चाहने युवाहरुलाई समेत तालिममा सहभागी गराउने उल्लेख गरे ।

विशेषगरी विदेशमा काम गर्न जाने नेपाली युवाहरुमध्ये सबैभन्दा बढी सीप नभएका जनशक्ति विदेश जाने गरेका छन् । सो संख्यामा कमी ल्याउनको लागि सरकारले बोर्डमार्फत सीपमूलक तालिम सञ्चालन गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीको नाममा खाडी मलेसियालगायतका मुलुकमा काम गर्न जाने नेपाली युवाहरुको संख्या वार्षिक पाँच लाख रहेको अनुमान छ । सो संख्यामा अदक्ष कामदारहरुको प्रतिशत ६० देखि ७० प्रतिशत रहेको वैदेशिक रोजगार विभागले सार्वजनिक गर्ने गरेको तथ्यांकमा देख्न सकिन्छ ।

बोर्डले चालू आर्थिक वर्ष २०७६र०७७ मा १५ हजार युवाहरुलाई सरकारी निकायमार्फत १३ वटा सीप विषयमा निःशुल्क तालिम दिन लागेको जनाएको छ । ‘हामीले यस आवमा १३ वटा सीप विषयमा निःशुल्क तालिम दिन लागेको हौं भने निकट भविष्यमा छवटा सीप विषय थप गरी कुल १९ वटा तालिम दिने योजना छ’, उनले भने ।

हाललाई बोर्डले बोर्डले निःशुल्क प्रदान गर्ने आधारभूत तहको तालिममा प्लम्बर सहायक, डकर्मी, सटरिङ कार्पेन्ट्री, गार्मेन्ट मेसिन अपरेटर, इलेक्ट्रिसियन, हाउस पेन्टर, सुरक्षा गार्ड, वेटर, हाउस किपिङ एटेन्डेन्टसहित १३ वटा सीप विषय समावेश गरेको छ भने टायल मार्बल, ब्युटीसिएन, फ्रन्ट अफिस, आल्मुनियम फ्रेब्रिकेटर, फर्निचर एण्ड फिक्सर र अफिस सेक्रेटरी गरी थप छ विषयको पाठ्यक्रम समेत तयार पारी निकट भविष्यमा ती विषयहरुमा निशुल्क आधारभूत तहको तालिम सञ्चालन गर्ने योजना बोर्डको रहेको छ ।
यो खबर आजको आर्थिक दैनिकमा प्रकाशित भएको छ ।

1

Scroll to Top